चितवन – जनता समाजवादी पार्टी चितवनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन गरेको छ । संसद विघटनको विरुद्धमा समाजवादीले जिल्ला सचिव बिनोद शर्मा पौडेलको नेतृत्वमा आज (बिहीबार) दिउँसो चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल चोकमा पुत्ला दहन गर्नुका साथै फोटो जलाएको हो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेर असंवैधानिक कदम चालेको सचिव पौडेलले आरोप लगाए । झन्डै दुई तिहाइको नेकपा नेतृत्वको सरकारले पार्टी भित्रको आन्तरिक द्धन्दलाई लिएर संसद विघटन गर्नु दुर्भाग्यपूर्ण भएको उनले बताए । उनले संसद विघटन संविधान विपरित भएको भन्दै तत्काल खारेजको माग गरे ।
कार्यक्रममा समाजवादी चितवनका वरिष्ठ उपाध्यक्ष यदुकृष्ण भट्ट, समाजवादी विद्यार्थी युनियन चितवनका अध्यक्ष अनुज जोशीलगायतकको उपस्थिती रहेको थियो । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले ७७ वटै जिल्लामा पुत्ला दहन तथा फोटो जलाएको हो ।