ओलीजीले जे-जे भन्नुभयो त्यो सबै खुरूखुरू मान्नु मेरो गल्ती भयो : प्रचण्ड

एटुजेड समाचार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले जे-जे भने खुरूखुरू त्यही मान्नु आफ्नो गल्ती भएको बताएका छन्।

शुक्रबार आयोजित प्रचण्ड-नेपाल समूहको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले बेलाबेलामा गल्ती गर्दै फेरि स्वीकारेर जाने आफ्नो स्वभाव भएको र यसपालि पनि आफूबाट गल्ती भएको बताए।

‘म जनयुद्धका बेला पनि गल्ती भएपछि विज्ञप्ति निकालेर आत्मआलोचना गर्ने मान्छे हो। पहिलो संविधान सभापछि पनि मैले गल्ती गरेको सार्वजनिक रूपमा स्वीकारेको छु,’ प्रचण्डले भने,‘यसपालि ओलीजीले जे-जे भन्नुभयो त्यो सबै खुरूखुरू मान्नु मेरो गल्ती हो।’

ओलीले बरिष्ठताको कुरा गर्दा ‘मैले तीन वटा भोटो बढी फटाएको छु’ भनेको कुरा सम्झिए। ‘बरिष्ठताको कुरा गर्दै म जेठो हुँ भन्नुभयो, मैले मानिदिएँ। आलोपालो कुरा गर्दा तपाईं कार्यकारी अध्यक्ष हुनु भन्नुभयो मैले पनि अब पाँच वर्ष तपाई नै प्रधानमन्त्री भनेर मान्दिएँ,’ प्रचण्डले भने,‘यसपालि मेरो गल्ती त्यही भयो।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू