खुलेनन् चितवनका सिनेमा हल "कोही आन्तरिक तयारीमा जुट्दै त कोही सरकारको निर्णय कुर्दै "

चितवन – नेपालमा कोरोना भाइरस र लकडाउनका कारण बन्द रहेका सिनेमा हलहरु करिब ९ महिना पछि खुलेका छन् । सरकारले अनुमती नदिए पनि नेपाल चलचित्र संघको निर्णय अनुसार सञ्चालकले आज (शुक्रबार) देखि सिनेमा हलहरु खोलेका हुन् ।
संघले आजदेखि देशभरका सबै सिनेमा हलहरु खोल्ने निर्णय गरेपनी चितवनका हलहरु भने खुलेका छैनन् । चितवनको नारायणगढस्थित जलमा क्युएफएक्स, ईन्द्रदेव सिनेमा तथा पूर्वी चितवनको पर्सास्थित म्याङ्गो जनज्योती हल बन्द नै रहेका छन् । सिजी ल्याण्डमार्कस्थित सिनेप्लेक्स खुलेपनी दर्शक नभएकाले बन्द जस्तै छ ।
केही सञ्चालक हल खोल्ने आन्तरिक तयारीमा जुट्दैछन् भने केही सरकारको निर्णय कुर्दैछन् । जलमा क्युएफएक्सका म्यानेजर बिकास पोख्रेल हल सञ्चालनका लागि आन्तरिक तयारी भइरहेकोले आजबाट खोल्न नसकिएको बताउछन् । अझै केही दिन हल नखुल्ने पोख्रेलको भनाइ छ । “हामी आन्तरिक तयारीमै छौं उनले भने, अझै केही दिन हल खुल्ने सम्भावना छैन ।”
ईन्द्रदेवका म्यानेजर हरि रेग्मी अझै केही दिन हल नखुल्ने बताउछन् । संघले निर्णय गरेपनी सरकारले केही दिन कुर्न आग्रह गरेको भन्ने खबर आएको भन्दै उनले सरकारको निर्णय पर्खिने बताए । “हाम्रो तयारी त पुरा छ तर अझै केही दिन खोल्दैनौं उनले भने, सरकारले २-४ दिन पर्खिन आग्रह गरेको भन्ने खबर छ, केही दिन कुर्छौं ।”
सिनेप्लेक्स भने आजबाट नै खुलेको छ । तर दर्शक छैनन् । ड्युटी इन्चार्ज सागर खड्काले आजबाट हल खोलेर ‘आमा’ र ‘सेन्टी भाइरस’ दुई फिल्मको शो राखिएपनी दर्शक नभएको बताए । “हामीले आजबाटै हल खोलेका छौं, दुई फिल्मको शो पनि राखेका छौं खड्काले भने, तर दर्शक छैनन्, कतीपयलाई हल खुल्ने भन्ने थाहा नै छैन, सायद केही दिनमा दर्शक आउनुहुन्छ ।”
उता म्याङ्गो जनज्योती पनि केही दिनपछि मात्र खुल्ने अध्यक्ष शिवप्रसाद उप्रेतीले बताए । ‘हाम्रो तयारी पुरा भइसकेको छ उनले भने, सरकारले केही दिन कुर्न आग्रह गरेकोले केही दिन पर्खैन्छौं ।” चलचित्र संघले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्दै तत्काललाई ५० प्रतिशत मात्र दर्शक राख्ने गरी आजदेखि हल खोल्ने निर्णय गरेको थियो । हल खुलेपनी नयाँ फिल्म भने रिलिज भएका छैन । खुलेका हलले कोरोनाका कारण प्रदर्शनकै क्रममा रोकिएका ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शन गरेका छन् ।
तपाइँको प्रतिक्रिया