सभामुख सापकोटाद्वारा संसद विघटनको विरोध

एटुजेड समाचार

काठमाडौं – विघटित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् । उनले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन हुन नसक्ने संविधानको धारा ७६ मा स्पष्ट व्यवस्था गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद भंग गर्ने निर्णयको विरोध गरेका हुन्।

‘संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ । यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो’,।

सभामुख सापकोटाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ ।’

संविधानको धारा ९३ (१) बमोजिम यही २०७७ पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रुपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधि सभा र आफू मर्माहत भएको समेत सापकोटाले बताएका छन् ।

सात दशकयताका बिभिन्न आन्दोलनको जगमा संविधान सभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिंगो मुलुकको प्रमुख कार्यभार भएको स्मरण गराउँदै सापकोटाले भनेका छन्, ‘संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको छ ।’ प्रतिनिधिसभा विघटनपछिको यो अवस्थामा संवैधानिक सर्वोच्चताका लागि सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको पनि सापकोटाले बताएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू