प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

एटुजेड समाचार

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको छ ।

बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेकोलगायतका निर्णयहरु पेश गरेको हो ।

नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ । पाण्डेका अनुसार अरु ३ जना उपत्यकाबाहिर रहेकाले हस्ताक्षर समावेश नभएको हो ।

बुधबार बसेको प्रचण्ड-माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निश्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय सो समूहले निर्वाचन आयोगमा बुझाएको हो । आयोगमा पार्टीको निर्णय बुझाएर बाहिरिँदै गर्दा नेकपा र सूर्य चिन्ह आफूहरूको हुने दाबी गरेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू