संसद विघटनको विरुद्धमा चितवनमा जनता समाजवादी पार्टीको प्रदर्शन
चितवन – संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी चितवनले विरोध प्रदर्शन गरेको छ । समाजवादीले आज (बुधबार) दिउँसो चितवनको भरतपुरमा संसद विघटन खारेजको माग गर्दै र्याली निकालेको हो ।
भरतपुरस्थित विरेन्द्र बहुमुखी क्याम्पस पेरिसरबाट निस्किएको र्याली नारायणगढको पुलचोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी पार्टीका केन्द्रीय सदस्य महेन्द्रा श्रेष्ठले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक र अलोकतान्त्रीक भएको बताए । उनले संसद विघटन संविधान विपरित भएको भन्दै तत्काल खारेजको माग गरे ।
पार्टीका जिल्ला सचिव बिनोद शर्मा पौडेलले झन्डै दुई तिहाइको नेकपा नेतृत्वको सरकारले पार्टी भित्रको आन्तरिक द्धन्दलाई लिएर संसद विघटन गर्नु दुर्भाग्यपूर्ण भएको बताए । प्रधानमन्त्रीले प्रतिगामी कदम चाल्दै जनताले लडेर ल्याएको लोकतन्त्र र संविधानमाथि प्रहार गरेको उनले बताए।
कार्यक्रममा जनता समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य शेरबहादुर थापा, चितवन जिल्लाका वरिष्ठ उपाध्यक्ष यदुकृष्ण भट्ट, उपाध्यक्ष सरस्वती बर्देवा, सह सचिव नारायणप्रसाद बर्तौला, भरतपुर महानगर अध्यक्ष दिलबहादुर अधिकारी, कालिका नगर अध्यक्ष सुनिल ढकाल, रत्ननगर नगर सचिव गौतमबाबु अर्याल, राप्ती नगर सचिव खिमानन्द कँडेल, तामसालिङ सदस्य बिमला मगरलगायतकको उपस्थिती रहेको थियो । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो ।
तपाइँको प्रतिक्रिया