काठमाडौं – संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिटहरुको सुनुवाई आज (बुधबार) हुँदैछ । तत्सम्बन्धी पुस ६ र ७ गते परेका १२ वटै रिटहरुको सम्माननीय प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा पेशी चढेको छ । यी सबै मुद्दाहरु उनी आफैले हेर्दैछन् ।
कपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, समृत खरेल, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, कमल खत्री, मणिराम उपाध्याय, अमिता गौतम पौडेल, दीपक राई र तुलसी सिंखडाले संसद विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । उक्त सिफारिसलाई राष्ट्रपतिले तत्क्षण नै सदर गरेकी थिइन् । ततपश्चात आगामी वैशाख १७ र २७ गरी दुई चरणको निर्वाचन मिति समेत घोषणा भइसकेको छ । नेपाली राजनीतिमा निर्णायक मोड दिने तथा कानूनी व्याख्यामा नयाँ दिशाबोध गर्ने यो मुद्दालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नै गम्भीर चासोका साथ हेरिएको छ ।