खेलकुद मन्त्रालयले गर्यो ७ खेलाडीसहित १४ जनालाई नगदसहित सम्मान

काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले ७ खेलाडीसहित १४ जनालाई खेलाडी प्रतिभा पुरस्कारबाट मंगलबार नगदसहित सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा १ बाहेक सबै गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठलगायतले उनीहरुलाई खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरेका हुन् ।
सोही अवसरमा २ प्रशिक्षक तथा समान १–१ निर्णायक, चिकित्सक र खेल संघलाई पनि नगदसहित सम्मान गरिएको हो भने २ प्रायोजक पनि त्यसै अवसरमा प्रशंसा पत्रबाट सम्मानित भएको छ ।
शारीरिक सुगठनका समिर श्रेष्ठ, भारोत्तोलनका विकास थापा र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ समान ६६ हजार ६ सय ६६ रुपैयाँ नगदसहित सम्मानित भएका छन् ।
समिरले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा रजत तथा नेपालमा भएको १३ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए। विकासले ८९ केजी तथा सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए ।
समान १–१ लाख नगदसहित सम्मानित हुनेमा गोल्फका सुवास तामाङ, साइक्लिङकी लक्ष्मी मगर, करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य छन्।
१३ औं सागमा डाउनहिल स्पर्धाकी स्वर्ण विजेता लक्ष्मी बाहेक तीनै खेलाडी १३ औं सागका दोहोरो स्वर्ण विजेता हुन्। मन्डे, आयशा र सुवासले व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण जितेका थिए।
प्रशिक्षकमा करातेका कुशल श्रेष्ठ र तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ पुरस्कृत भएका छन् । दुवै १३ सागमा प्रशिक्षकको भूमिका थिए। १३ औं सागमा करातेले १० स्वर्ण, ४ रजत ५ कांस्य तथा तेक्वान्दोले १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो।
दुवैलाई समान ५०–५० हजार नगद प्रदान गरिएको छ । निर्णायकमा जुडोका धर्मकुमार श्रेष्ठ, चिकित्सकमा डा. ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय खेल संघमा नेपाल गोल्फ संघ सम्मानित भएका छन् । तीनैलाई समान १–१ लाख नगद दिईएको छ ।
प्रायोजकमा कतार एयरवेज र काठमाडौं महानगरपालिकालाई प्रशंसा पत्रबाट सम्मान गरेको छ । कतार एयरवेजले शहिद स्मारिक ए डिभिजन फुटबल लिग प्रायोजन गरेको थियो।
तपाइँको प्रतिक्रिया