सातै प्रदेशमा ‘घुमौ सौराहा’ अभियान, हात्ती महोत्सव तत्काल नहुने
चितवन – चितवनको पर्यटन प्रवर्धनका लागि ‘घुमौ सौराहा’ अभियान हुने भएको छ । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा पहिलो पटक ‘घुमौ सौराहा’ अभियान हुन लागेको हो ।
जिल्लामा आन्तरिक पर्यटक भित्र्याउनका लागि उक्त अभियान शुरु गर्न लागिएको हो । जस अन्तर्गत देशका सातै वटा प्रदेशमा पुगेर आन्तरिक पर्यटकलाई सौराहा लगायतका जिल्लाका पर्यटकीय स्थलहरु घुम्नका लागि निमन्त्रणा दिइने क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले बताए । “अहिले विदेशी पर्यटक आउने सम्भावना छैन भट्टराईले भने, अहिले आन्तरिक पर्यटक नै बढाउने हो । यो अभियानमा हामी पनि बिभिन्न पर्यटकीय स्थल पुग्छौं भने उनिहरुलाई पनि यता आउने वातावरण बनाउछौं ।”
प्रदेश नम्बर १ को बिराटनगरबाट उक्त अभियान शुभरम्भ हुनेछ । पौष १० गते बिराटनगरमा स्थानीय निकाय, वित्तिय संघ संस्था, उद्योघी व्यवसायी, अन्य बिभिन्न संघ संस्था तथा पत्रकारसँग भेटघाट तथा अन्त्रक्रिया कार्यक्रम गरेर पर्यटकहरुलाई चितवन घुम्नका लागि निम्तो दिइने भट्टराईले बताए ।
उक्त कार्यक्रममा सौराहा लगायत चितवनका बिभिन्न पर्यटकीय गन्तव्य बारे तयार पारिएका भिडियो सामाग्री तथा डकुमेन्ट्री प्रस्तुत गरिने छ । यस्तै जिल्लाको पर्यटकीय स्थलसम्म पुग्ने नक्सा, ग्रोसर लगायतका सामाग्रीहरु पनि प्रस्तुत गरेर भ्रमणमा आउने पर्यटकलाई थप सहज बनाइने संघका अध्यक्ष भट्टराइले बताए । उक्त अभियानमा जिल्लाका बिभिन्न स्थानीय निकायका प्रतिनिधिहरुलाई पनि सहभागी गराइने उनले बताए । सहभागी स्थानीय निकायका प्रतिनिधिहरुले पनि जिल्लाका पर्यटकीय स्थलहरुको बिषयमा जानकारी गराउने उनले बताए ।
१० गते बिराटनगरमा कार्यक्रम सकेर ११ गते प्रदेश २ को जनकपुर र १२ गते प्रदेश २ कै वीरगञ्जमा कार्यक्रम गरिनेछ । पहिलो चरणमा अंग्रेजी नयाँ वर्ष अघी यि दुई प्रदेशमा कार्यक्रम गरिनेछ । कार्यक्रमको प्रभावकारीता हेरेर दोस्रो चरणमा अन्य ५ वटा प्रदेशमा पनि कार्यक्रम गर्ने योजना रहेको संघले जनाएको छ ।
उक्त अभियानमा चितवन भ्रमणमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई दिइने बिभिन्न प्याकेजहरुको बिषयमा पनि जानकारी गराइने छ । सौराहाका होटलहरुमा पर्यटकलाई २० देखि ३० प्रतिशतसम्म छुट हुनेछ । यसका लागि संघ अन्तर्गतका होटल व्यवसायीहरुसँग लिखित सहमती पनि भइसकेको छ । छुटका लागि होटल व्यवसायीहरुसँग भएको लिखित सहमती लागु भइसकेको छ ।
यस्तै जंगल सफारीका लागि हात्तीमा सेवा सुविधा थप हुनेछ । “होटलहरुमा पर्यटकलाई २० देखि ३० प्रतिशतसम्म छुटका लागि सहमती भएर लागु पनि भइसकेको छ संघका अध्यक्ष भट्टराईले भने, हात्तीको रेट पहिलेनै कम भएकोले शुल्क घटाऊने भन्दा पनि सेवा सुविधा थप गर्नेछौ । १ घण्टा घुमाउनेमा सेवा थप गरेर २ घण्टासम्म घुमाउन सक्छौं, पहिले ४ जना भएपछि मात्र घुमाइन्थ्यो भने अब २ जना भए पनि घुमाउछौं ।”
हात्ती महोत्सव तत्काल नहुने
सौराहामा पर्यटकको आकर्षणको रुपमा लिइने हात्ती महोत्सव तत्काल नहुने भएको छ । कोभिड १९ का कारण यसपटक हात्ती महोत्सव नहुने भएको हो ।
हात्ती महोत्सव एक दिन मात्र गर्ने भनिएपनी प्रतिकुल समयका कारण तत्काल नगर्ने गरी सारिएको क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले बताए । तत्काल नगर्ने गरी सारिएको बताउदै भट्टराईले स्थगित नै भने नभएको जानकारी दिए ।
“हात्ती महोत्सव एक दिन मात्रै भएपनी गर्न पर्छ भनेर हामी लागि परेका थियौं तर अहिले गर्न सक्ने अवस्था रहेन उनले भने, यसपाली मेला महोत्सव गर्न नपाईने भएकोले तत्कालका नगर्ने गरी सारिएको हो, स्थगित नै भएको चाँही होइन ।” वातावरण सहज हुने वित्तिकै हात्ती महोत्सव गरिने उनको भनाइ छ ।
तपाइँको प्रतिक्रिया