श्रीराम सुगर मिल्सले गर्यो २५ करोड भुक्तानी
काठमाडौं – रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ। किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी २५ करोड ३० लाख २७ हजार ५२६ रुपैयाँ किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको हो।
उक्त मिल्सले सोमबार विज्ञप्ति जारी गर्दै पहिलो दिन अर्थात शुक्रबार १६ करोड ४४ लाख ७० हजार र आइतबार आठ करोड ८५ लाख ५७ हजार रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको छ। बाँकी रकम प्रत्येक दिन क्रमशः भुक्तानी गर्दै जाने मिल्सले जनाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार श्रीराम सुगर मिल्सको बक्यौता रकम ३५ करोड छ। अझै मिल्सले १० करोड रकम भुक्तानी गर्न बाँकी छ। यसैगरी मन्त्रालयको तथ्यांकअनुसार लुम्बिनी चिनी मिल्सको आठ करोड ४१ लाख, इन्दिरा सुगर मिल्सको चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिल्सको १७ करोड बाँकी छ।
गत वर्षको पुस १८ गते सरकार, चिनी मिल्स र उखु किसानबीच भएको सम्झौताअनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौँमा आन्दोलन गर्दै आएका छन्। लुम्बिनी चिनी मिल्सले आइतबारदेखि दैनिक एक करोडका दरले बक्यौता रकम भुक्तानी गर्ने जनाइसकेको छ। रासस
तपाइँको प्रतिक्रिया