चितवन – चितवनको रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा गौतमवुद्ध कप २०२० क्रिकेट प्रतियोगिता हुँदैछ । बागमती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा मंसिर २७ गते शुक्रबारबाट प्रतियोगिता शुरु हुँदैछ। प्रतियोगिताका खेलहरु निर्माणाधिन रंगशालाको नमुना मैदानमा हुनेछ ।
प्रतियोगितामा सहभागीता जनाउने ३ टोली घोषणा भएको छ । आयोजक बागमती प्रदेश क्रिकेट संघले आज (बुधबार) प्रतियोगितामा सहभागीता जनाउने ३ वटा टोलीको नाम सार्वजनिक गरेको हो । प्रतियोगितामा टिम बागमती, टिम नारायणी र टिम राप्तीले सहभागीता जनाउने संघका कोषाध्यक्ष अनिल अधिकारीले जानकारी दिए ।



बागमतीको कप्तानमा राष्ट्रिय टोलीको समेत कप्तान रहेका ज्ञानेन्द्र मल्ल रहेका छन् । यस्तै नारायणीको कप्तान पुर्व राष्ट्रिय कप्तान पारस खड्का र राप्तीको कप्तानमा बिनोद भण्डारी रहेका छन् । सबै टिम राष्ट्रिय खेलाडीले भरिपूर्ण रहेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा मंसिर २७ गते ज्ञानेन्द्र मल्लको बागमती र पारस खड्काको नारायणी भिड्नेछन् । दोस्रो खेलमा मंसिर २८ गते बागमती र बिनोद भण्डारीको राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्नेछन् । शिर्ष २ मा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मंसिर ३० गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता हेर्नका लागि प्रवेश नि:शुल्क गरिएको छ । तर कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यानजर गर्दै दर्शकहरुले मास्क अनिवार्य लगाउनु पर्ने तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष अधिकारीले बताए ।
प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले प्राविधिक सहयोग गर्नेछ भने बागमती प्रदेश प्रदेस खेलकुद बिकास समिति र भरतपुर माहानगर पालिकाको आर्थिक सहयोग गर्नेछ । कोरोना भाइरस (कोभिड १९) का कारण ठप्प रहेको क्रिकेट गतिविधिलाई पुन: चलायमान गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
कुन टिममा को-को छन् ?
बागमती : ज्ञानेन्द्र मल्ल (कप्तान) , अनिल शाह, सोमपाल कामी, रसिद खान, ललित राजवंशी, सागर ढकाल, रोहित पौडेल, पवन सराफ, सुनिल धमला, बिक्रम सोब, प्रदीप एरी, भिम सार्की, आकाश थापा, संघर्ष पौडेल
नारायणी : पारस खड्का (कप्तान), सुबाश खकुरेल, करण केसी, किशोर महत्तो, सुशन भारी, शाहव आलाम, आरिफ शेख, सन्दीप जोरा,रित गौतम, सिदार्थ लोहनी, इशान पाण्डे, राजु रिजाल, दिपेश श्रेष्ठ, विवेक यादव
राप्ती : बिनोद भण्डारी (कप्तान), कुशल भुर्तेल, अविनास बोहरा, कमल एरी, सुर्य तमाङ, भुवन कार्की, सरद भेसवाकर, लोकेश बम, आशिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरि चौहान, स्वप्निल अधिकारी