चितवन – चितवन मेडिकल कलेजले ७ वर्षीया बालिकाको मुटुको जटिल शल्यक्रिया गरेको छ । तनहुँको घिरिङ गाउँपालिका घर भइ हाल भरतपुर महानगरपालिका–१२ बस्ने ७ वर्षीया खुसी थापाको मुटुको जटिल शल्यक्रिया गरेको हो ।
उनको मुटुमा पेशमेकर राखेर सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । उनलाई श्वास फेर्न गाह्रो हुने, बेला–वेलामा ढल्ने, समान्यतया अरु बच्चाहरु भन्दा फरक समस्या देखिएपछि १७ महिनाको हुँदा काठमाडौंस्थित शहिद गंगालाल अस्पतलामा परीक्षण गर्दा जन्मजात मुटु सम्बन्धी रोग भएको पुष्टि भएको थियो।



सामान्यतया मानिसको धड्कन प्रतिमिनेट ६० पटक भन्दा बढी धड्कन्छ। तर ती खुसीको धड्कन ३० देखि ३२ मात्र थियो। मंसिर २० गते अस्पताल भर्ना भएकी खुसीको २२ गते शल्यक्रिया गरिएको थियो। यसरी शल्यक्रिया गरी पेशमेकर राखेर उपचार गर्दा मुटुको धड्कन प्रतिमिनेट ६० सम्म चल्ने र यसले १० वर्ष सम्म काम गर्ने मुटुरोग विशेषज्ञ प्रा. डा. श्यामराज रेग्मीले बताए । यसले काम गर्न छोडेपछि चिकित्सकको सल्लाह बमोजिम पुनः शल्यक्रिया गरी पेशमेकर फेर्नु पर्छ।
डा.रेग्मीको नेतृत्वमा डा.सुधिर रेग्मी, डा.विष्णुमणि धिताल, सर्जन डा.सुरज भट्टराई, रेडियोलोजि डा.विज्ञान पौडेल, एनेस्थेसियोलोजी डा.भारती शर्मा रेग्मी र क्याथ ल्याब प्रमुख अमृत काफ्लेको संग्लनमा शल्यक्रिया सम्पन्न भएको हो ।