पेट्रोल पम्प भाडामा लगाए कारबाही हुने

काठमाडौं – पेट्रोलियम पदार्थको विक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन्। पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि निगमले एक सूचना प्रकाशन गर्दै पम्प भाडामा लगाउन नपाउने जनाएको हो।
निगमले जारी गरेको सूचनामा भनिएको छ, ‘पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ को परिच्छेद–६ विनियम ३० (ड)’ मा व्यवस्था भएअनुसार कुनै पनि विक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति बन्द गर्न सक्नेछ भन्ने प्रावधान रहेको छ। यस प्रावधानअनुसार विक्रेताले आफ्नो पम्प भाडामा नदिई विनियमावली बमोजिम आफैं सञ्चालन गर्न अनुरोध गरिएको छ।’
निगमले पटक/पटक भाडामा नलगाउन अनुरोध गर्दै आएको भन्दै विनियमावली विपरीत कसैले पम्प भाडामा लगाएको पाइएमा कारबाही हुने जनाएको छ। रासस
तपाइँको प्रतिक्रिया