एटुजेड फलोअप : खुट्टाको समस्याबाट थलिएकी सुस्माले पाईन् उपचार

मनिका विश्वकर्मा,
चितवन – खुट्टाको रोगबाट थलिएकी भरतपुरकी सुष्मा गुरुङको उपचार निरन्तर भएको छ । खुट्टाको समस्या रहेकी सुस्मालाई अहिले काठमाडौंस्थित टिचिङ हस्पिटलमा उपचार भईरहेको छ ।
रिकभरिंग नेपाल बाग्मती प्रदेशका उपाध्यक्ष किरण गुरुङको पहलमा जुटेको सहयोगले सुस्माको उपचार भएको हो । गत भदौं ११ गते “अज्ञात रोगले थलिइन् सुष्मा न पाउछिन उपचार ! न पाउछ बच्चाले स्याहार“ भन्ने शिर्षकमा ए टु जेड समाचारले समाचार प्रकाशित गरेको थियो ।
समाचारका प्रसारण भएपछि सुस्माको अवस्था हेरेर चितवनमा नै बस्ने किरण गुरुङले सुस्माको सबै उपचार गर्ने निर्णय गरेका थिए । गुरुङकै पहलमा सुस्मालाई उपचारको लागि बिहीवार भरतपुरमा रहेको रक्षा हस्पिटल प्रा.लि.बाट रेफर गरी टिचिङ हस्पिटल काठमाडौं पठाईएको गुरुङ्गले जानकारी दिए । उनका अनुसार छाला रोग विषेशज्ञ डा. सन्तोष बानियाद्धारा टिचिङ अस्पतालमा सुस्माको परीक्षण र उपचार भईरहेको छ ।
गुरुङको पहलमा सुस्माको उपचारका लागि युवा ब्यवसायी एवं विभिन्न सामाजिक अभियान्ताहरुको सहयोगमा हालसम्म ४ लाख ११ हजार ९ सय ५ रुपैयाँ पैसा जम्मा भईसकेको छ । जस्मा सुस्माको उपचारको लागि अहिले २ लाख ४५ हजार रकम खर्च भएको गुरुङले जानकारी दिए । सुस्माको उपचारको लागि मात्रै नभएर उनको घरभाडा, बच्चाको हेरचाह ,खाद्यान्न लगायतका खर्चहरु पनि गुरुङले नै हेरिरहेका छन् ।
नियमित उपचार भएपछि उनको खुट्टाको समस्यामा सुधार हुँदै गएपछी सुस्मा पनि खुशी भएकी छिन् । निम्नवर्गीय सुस्माको अहिले आफ्नो उपचार मात्रै नभएर घरको सबै खर्चहरुको लागि सहयोग जुटेको सुस्माले बताईन । यसैबीच सुस्माको थप उपचारको लागि इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) हेल्प डेस्क टिम नेपालले २५ हजार रुपैयांँ सहयोग गरेको छ ।
यो पनि पढ्नुहोस् । ..
अज्ञात रोगले थलिइन् सुष्मा न पाउछिन उपचार ! न पाउछ बच्चाले स्याहार
तपाइँको प्रतिक्रिया