माडीका विद्यालयहरु आइतबारदेखि खुल्ने
चितवन – चितवनको माडी नगरपालिकामा आइतबारदेखि विद्यालयहरु खुल्ने भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वर्षको चैत्रदेखि बन्द रहेका सार्वजनिक तथा संस्थागत विद्यालयहरु आइतबारबाट पुन: सञ्चालन हुने भएको हो ।
स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदै आइतबारबाट भौतिक रुपमा विद्यार्थीहरुलाई कक्षाकोठामा सहभागी गराई शिक्षाण सिकाइ क्रियाकलाप सञ्चालन गर्न लागिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पराज ढकालले जानकारी दिए । शुक्रबार बसेको शिक्षा समितिको बैठकले संघीय सरकारले तय गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा अनुसार आइतबारबाट सबै विद्यालय खोल्ने निर्णय गरेको ढकालले बताए ।
एउटा कक्षामा २५ जना भन्दा कम विद्यार्थी रहेका विद्यालयहरुले एकै सिफ्ट तथा २५ जना भन्दा बढी विद्यार्थी रहेकाको हकमा दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने निर्णय भएको उनले बताए । विद्यलयले कक्षाकोठा भित्र कम्तीमा एक मिटरको भौतिक दुरी कायम गरी एउटा बेन्चमा दुई जना विद्यार्थी मात्र राख्न पाउनेछन् ।
ज्वरो, रुघा खोकी तथा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका विद्यार्थीहरु विद्यालय आउन नपाउने र आवश्यक परे स्वास्थ्य शाखासँगको समन्वयमा परीक्षण गरिने उनले जानकारी दिए । विद्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे नगरेको अनुगमन गर्नका लागि नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुलाई परिचालन गरिनेछ । माडीमा ३२ वटा सार्वजनिक र ६ वटा निजी विद्यालयहरु रहेका छन् ।
तपाइँको प्रतिक्रिया