लोकतन्त्रको आशा र भविष्य
सबैको चाहना फुल्ने फूलबारी सुगन्धित-
होला नेपालमा राम्रो लोकतन्त्र व्यवस्थित ?
सुनौलो भोलिको प्रात: पर्खी नित्य बराबर-
आशा-विश्वासमा लड्दै रहेको छु निरन्तर ।
लालीगुराँस भै फुल्ने रम्य सौन्दर्यका मुना-
सदा बहार भै फुल्लान् दिलका के कुनाकुना ?
आऊ प्रभात भै स्रस्टा ! तिम्रो गीत म गाउँला,
नेपाली मनका जीर्ण छाप्रा ती सब छाउँला ।
आशा-कुसुम फुल्ने छन् धरतीमा पलापला-
आफैं खुलेर हाँस्ने छन् नव-सिर्जनका कला ।
धर्ती-पुत्रहरुतुल्य गर्दै कर्म निरन्तर,
यात्रा सङ्घर्षको गारो छिचोलौला बराबर ।
हामी धर्ती बनाऔंला प्रकृतिझैं मनोहर-
होला प्रभातको भोलि शिव,सत्य र सुन्दर ।
नचाई खुकुरी लाग्ने शत्रुलाई ढलाउँदै
लड्नै पर्दछ मौकामा साँध सीमा बचाउँदै ।
खुकुरी-वीरझैं हामी लेखनी-वीर छौं जुन-
सहिष्णु भै सधैं हामी बस्दैनौं वैरी हो ! सुन ।
ज़िन्दाबादसितै चर्को लोकतन्त्र यहाँ पुन:
साझा लक्ष्य बनाऔंला प्राप्त्याशा एक सुन्दर ।
इन्कलाबसितै चर्को लोकतन्त्र उचाल्नु छ-
काला सामन्तका थोत्रा ढिकी,जाँता फुकाल्नु छ
समाज भित्र छन् थुप्रो विकृति र विसंगति,
क्रूर बर्बरता भित्रै अन्याय सहने कति ?
यात्रा गन्तव्यको ठाडो उकालो अझ बाँकी छ-
काल-रात्रि छिचोले नि उकालो अझ बाँकी छ
भोलिको भोरमा स्चच्छ हिमाल पनि खुल्छ रे !
परिवर्तनको रम्य अवश्य फूल फुल्छ रे !
स्वप्न-पुष्पहरु फुल्लान् शहीदहरुका सब-
अति सुन्दर बन्नेछ नेपाल-वाटिका तब।
प्रतीक्षामा रहेको छु छर्दै स्वागत-मंजरी
प्रतीक्षामा रहेकै छु छोई उमंगको धुरी । – केशवराज आमोदी
तपाइँको प्रतिक्रिया