चितवन – चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालालाई सहयोगार्थ आयोजित धनधान्यान्चल महोत्सवको स्मारिका बिमोचन गरिएको छ । गत वर्ष माघ १६ देखि २७ गतेसम्म आयोजित धनधान्यान्चलको “धान्यान्चल महोत्सव स्मारिका २०७७” आज (बिहीबार) बिमोचन गरिएको हो ।
उक्त स्मारिकाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिल कुमारी रावल (पार्वती), बागमती प्रदेशका प्रदेश सभा सांसद एवं धनधान्यान्चल महोत्सव मुल समारोह समिति संयोजक बिजय सुबेदी, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललगायतले बिमोचन गरेका हुन् । उक्त स्मारिकामा रगंशाला निर्माणार्थ आयोजित धनधान्यान्चलका सम्पूर्ण गतिविधीलाई समेटिएको छ ।
स्मारिकामा २ हजार ५ सय रुपैयाँ भन्दा माथिका सहयोग दाताहरुको नाम पनि उल्लेख गरिएको छ । स्मारिकाको प्रधान सम्पादक केदार खनाल हुन् भने प्रकाशन समिति संयोजकमा रमाकान्त सापकोटा रहेका छन् ।
सो अवसरमा बोल्दै प्रमुख अतिथी राष्ट्रिय सरोकार समितिकी सभापति रावलले कोभिड १९ का कारण उत्पन्न प्रतिकुल समयमा पनि रगंशाला निर्माणको कामले निरन्तरता पाइरहेको भन्दै खुशी व्यक्त गरिन् । सबै नेपालीको तन मन र धनले रगंशाला निर्माण भइरहेको भन्दै उनले जस्तो सुकै चुनौती पनि समाधान गरेर चितवनमा अन्तर्राष्ट्रिय रगंशाला निर्माण गरी छाड्ने प्रतिवद्धता जनाईन् ।
उनले स्थानीय र प्रदेश सँगै संघिय सरकार पनि रगंशाला निर्माण अभियानको साथमा रहेको बताईन् । उनले रगंशाला निर्माणका लागि आवश्यक सहयोग र समन्वय गर्न आफु सधैं तयार रहेको बताईन् । यस्तै काम गर्ने क्रममा केही प्रश्न उठ्नु स्वभाविक भएको भन्दै सिङ्गो देश र तिनै तहका सरकार धुर्मुस सुन्तली फाउण्डेशनको साथमा रहेकोले रगंशाला निर्माण भएरै छाड्ने रावलको भनाई थियो ।


भरतपुर महानगरपालिका प्रमुख दाहालले रगंशाला निर्माणका लागि चितवनबासी एक जुट भएर लागेको बताईन् । धनधान्यान्चल महोत्सवमा मात्रै २६ हजार जनाले आफ्नो क्षमता अनुसार सहयोग गरेको भन्दै सिङ्गो चितवन र देश नै रगंशाला निर्माणका लागि एक जुट भएको उनको भनाई थियो । धनधान्यान्चल महोत्सवको जनसहभागीता र सहयोगले थप उर्जा मिलेको उनले बताईन् ।
रगंशाला निर्माणका लागि आवश्यक सहयोग, समन्वय र सहकार्यका लागि महानगरपालिकाको कार्यालय कही कतै पनि कन्जुस्याँई नगरेको उनको भनाई छ । जग्गा व्यवस्थापन, सम्झौतादेखि आवश्यक समन्वय र सहयोगका लागि महानगरपालिका सधैं लागिपरिरहेको उनले बताईन् । प्रतिकुल समयमा बाबजुत पनि रगंशाला निर्माणलाई निरन्तरता दिएको भन्दै उनले फाउण्डेशन परिवारलाई धन्यवाद व्यक्त गरिन् ।
उनले रगंशाला बन्ने नबन्ने बारे अनेक टिका टिप्पणी पनि हुने गरेको भन्दै कुनै पनि हालतमा चितवनमा रगंशाला निर्माण भएरै छाड्ने दाबी गरिन् । ‘यो रगंशाला बन्ला कि नबन्ला, धुर्मुस सुन्तली फाउण्डेशनले छोडे अलपत्र होला कि, काठमाडौंको मुलपानी जस्तै होला कि भनेर कतिपयले टिका टिप्पणी गर्छन् मेयर दाहालले भनिन्, तर पनि म दावाका साथ भन्छु यो रगंशाला हरहलातमा बन्छ ।’
फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले रगंशाला निर्माण सहयोगार्थ आयोजित महायज्ञ सफल बनाउनका लागि अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिए । उनले जनताको सहयोगका कारण नै रगंशाला निर्माण अभियान अघी बढीरहेको बताए । उनले प्रतिकुल समयमा पनि रगंशाला निर्माणको काम नरोकिएको बताए । सबैले आवश्यक सहयोग गर्दै होस्टेमा हैसे गरेको खण्डमा अबको १८ महिना भित्र रगंशाला निर्माण सम्पन्न हुने उनले बताए । ‘सबैले आवश्यक सहयोग गर्ने हो भने अबको १८ महिला नबित्दै रगंशाला ठडिन्छ उनले भने, साउन १ गतेबाट १८ महिनाको तार्गेट राखेका छौं, रगंशाला ठडिदा रगंशाला मात्र होइन हरेक नेपाली मन ठडिन्छ ।’
यसैबीच रगंशाला निर्माणार्थ आयोजित धनधान्यान्चल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी व्यक्ती तथा संघ संस्थाहरुलाई सम्मान पनि गरिएको छ । मुल आयोजक समितिले आज उनिहरुलाई सम्मान गरेको हो । बागमती प्रदेशका प्रदेश सभा सांसद एवं धनधान्यान्चल महोत्सव मुल समारोह समिति संयोजक बिजय सुबेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा धनधान्यान्चल मुल समारोह समितिका महासचिव दिनेश कुमार चुकेले स्वागत मन्तव्य राखेका थिए ।