नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको सडक स्तरोन्नति गर्ने काम शुरु

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई स्तरोन्नती गर्ने काम शुरु भएको छ । सडक स्तरोन्नतिका लागि जिम्मेवारी पाएका इण्डो सगुन जेभीले निर्माण कम्पनीेले काम शुरु गरेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार ठेकेदार कम्पनीले सर्भेको काम शुरु गरेको छ । योसँगै सडकको छेउमा रहेका रुख, पोललगायत भौतिक संरचना हटाउने काम अघि बढाइँदै छ ।
निर्माण कम्पनी सगुन जेभीले सो सडक स्तरोन्नतीका लागि कार्यालयसँग २८ महिनामा काम सम्पन्न गर्ने गरि गत असोज २६ गते सम्झौता गरेको थियो ।

सूचना अधिकारी इञ्जिनीयर खनालका अनुसार रु एक अर्ब १२ करोडको लागतमा छ किलोमिटर उक्त सडकखण्डको स्तरोन्नती गर्न लागिएको छ । हाल शहरको मुख्य क्षेत्रमा चार लेन र अन्य भागमा दुई लेन रहेको उक्त सडकखण्डलाई छ लेनमा स्तरोन्नती गर्न लागिएको हो ।

सडक सीमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ । सडकको बीचमा तीन मिटर हरियालीका लागि छुट्याइएको छ भने चार लेन लामो दूरीका गाडीका लागि र छेउ–छेउमा दुई लेन स्थानीय सवारीका लागि छुट्याइएको सूचना अधिकारी खनालको भनाइ छ ।

उनका अनुसार सवारी साधनलाई यात्रु झार्नका लागि व्यवस्थित ठाउँ हुनेछन् । सडकको दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लने छुट्याइएको छ । सडकको दायाँबायाँ र बीचमा आकर्षक सडक बत्ती हुनेछ । उनले भने, “सरासर काम भएमा विसं २०७९ माघ १० गते भित्र सुन्दर सडक बन्नेछ ।”यो सडकले आवागमनलाई सहज बनाउनुका साथै महानगरको सौन्दर्यलाई समेत बढाउने महानगरका प्रमुख रेनु दाहालको भनाइ छ । उनले यो सडकको स्तरोन्नतीसँगै महानगरको नारायणगढ र भरतपुर क्षेत्र व्यवस्थित हुने बताए ।रासस

फाईल तस्विर

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु