काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक पनि सरेको छ । केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बैठक २७ कात्तिकमा बस्ने जानकारी दिएका हुन् ।
यस अघि नेताहरुलाई कोरोना देखिएपछि १९ असोजबाट २५ असोजका लागि बैठक सारिएको थियो । २५ असोजमा पनि केन्द्रीय समिति बैठक बस्न सकेन । त्यसपछि २१ कात्तिकमा बस्ने गरी बैठक बोलाइएको थियो ।



पार्टीमा सहमति नभएपछि २१ कात्तिकका लागि बोलाइएको बैठक २४ कात्तिकका लागि सारिएको थियो ।
काँग्रेसका शीर्ष नेताबीच पार्टी केन्द्रीय विभागको गठन, क्रियाशील सदस्यताको वितरण, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका सम्बन्धमा सहमति हुन नसकेपछि चौथो पटक बैठक सारिएको हो ।