एजेन्सी – दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले घुस तथा भ्रष्टाचार अभियोगमा फेरि १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेकी अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो ।
फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको थियो । बिहीबारको यो फैसलाले पूर्वराष्ट्रपति लीलाई पुनरावेदनको सुविधा दिएको छैन । यदि राष्ट्रपतिबाट सजाय माफ नभएमा उनले जेल जीवन विताउने छन् । योन्हाप समाचार एजेन्सीका अनुसार उनले स्वास्थ्यको कारण बताउँदै तत्काल पक्राउ नगर्न आग्रह गरेका थिए ।
उनको उक्त अनुरोधलाई प्रहरीले सोमबार हिरासतमा लिनेगरी मानेको छ । अक्सर राजनीतिक प्रतिद्वन्द्वीहरूका उत्तराधिकारीहरूको अनुसन्धानको परिणामस्वरुप दक्षिण कोरियाका चारै जना पूर्वराष्ट्रपतिहरू या त जेलमा छन् वा जेल सजाय पाएका छन् । लीलाई पहिलो पटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो ।
उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि नयाँ निर्णय नहुँदासम्मका लागि जमानतमा रिहा गरिएको थियो । उनलाई २५ अर्ब २० करोड कोरियन वनको अनियमितता र नौ अर्ब ४० करोड वन बराबर घुस स्वीकार गरेको ठहर गर्दै १७ वर्षको जेल सजाय तोकिएको हो ।