कैलाली – कैलालीको मोहन्याल गाउँपालिका– ३ ताम्जा, बारजेना, रागामलेखा र सावावासीले आफ्नै गाउँपालिकाको वडा कार्यालय आउजाउ गर्न दुइ दिन हिँड्नुपर्ने बाध्यता छ । सामान्य सरकारी कामकाजका लागि दुई दिन खर्चिनुपर्दा उनीहरूलाई निकै सकस भइरहेको छ । मोहन्याल गाउँपालिका– ३ को कार्यालय फल्ले बिसौनामा छ । त्यहाँ पुग्न ताम्जा, बारजेना, रागामलेखा र सावावासीलाई गाउँबाट दुई दिन पैदल हिडेर जानुपर्छ ।
“भौगोलिक विकटताका कारण सडकलगायत विकासका पूर्वाधार निर्माण हुन नसक्दा वडावासीलाई यस्तो बाध्यता आइपरेको हो”, रामलेखा गाउँका रामबहादुर रावलले भने, “वडाको फल्ले बिसौनामा रहेको वडा कार्यालयसम्म पुगेर सेवा लिन गाउँवासीलाई दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता छ ।” “गाउँका बासिन्दालाई दैनिक उपभोग्य वस्तु खरिद गर्न पनि कर्णाली नदी पार गरेर सुर्खेतको बिजौरा बजारमाथि निर्भर हुनुपर्ने अर्को बाध्यता पनि छ”, उनले भने, “डुङ्गामा जोखिम मोलेर कर्णाली नदी पार गरेर पुगिने बिजौरा गाउँबाट दैनिक उपभोग्य समान ल्याएर जीविका चलाउनुपर्ने बाध्यता छ ।”



सुदूरपश्चिम प्रदेशको राजधानी जिल्ला कैलालीलाई प्रदेशका अन्य जिल्लाको तुलनामा सुगम जिल्ला मानिन्छ तर जिल्लाको मोहन्याल गाउँपालिकाको भौगोलिक विकटताका कारण पुग्न नसकेको विकासका पूर्वाधारले त्यहाँका बासिन्दाको जीवनयापन कष्टकर छ । चुरे पहाडी क्षेत्रमा पर्ने यो गाउँपालिकामा सात वडा रहेका छन् ।
गाउँपालिकाका कतिपय वडामा कच्ची सडक पुगेको तर वर्षा लागेसँगै भत्किने गरेका सडक समयमै मर्मतसम्भार नहुँदा आवागमन बन्द हुने गरेको छ । वडा नं ४ का अध्यक्ष टेकेन्द्र बोगटीले स्तरीय बाटो नहुनु गाउँपालिकाको मुख्य समस्या रहेको बताए । उनले भने, “अधिकांश वडामा बिजुलीबत्ती छैन, शिक्षा र स्वास्थ्यका पूर्वाधारसमेत पर्याप्त नहुँदा सहज ढङ्गले सेवा पाउन समस्या हुने गरेको छ ।”
वडा नं ४ का बासिन्दा यज्ञबहादुर कठायतले गाउँवासी स्वास्थ्य चौकीको सहज पहुँचबाट पनि टाढा रहेको बताए । स्वास्थ्य चौकी पनि गाउँ नजिक नहुँदा बिरामी हुने मान्छेले सहजरुपमा समयमै उपचार पाउन नसकिरहेको उनले बताए । उनले भने, “सिकिस्त अवस्थाको बिरामीलाई धनगढीसम्म पु¥याउनुपर्दा बाटोमै दुई दिन लाग्छ, समयमै पु¥याउन नसकिएको अवस्थामा कतिपयको बाटैमा ज्यान जाने गरेको छ ।”



परिवर्तनपछि सरकारी सेवासुविधा गाउँठाउँमै पाइन्छ भनेको सुनिएको भए पनि एक डेढ वर्षसम्म गाउँपालिका कार्यालय र वडा कार्यालय खोज्दैमा समय बितेको दुखेसो स्थानीयवासी प्रेमबहादुर बुढामगरको छ । धनगढीमा भेटिएका बुढामगरले भने, “देशमा ठूलै परिवर्तन भएको भनिन्छ तर मोहन्यालस्तरीय सडकले नजोडिँदा त्यहाँका बासिन्दाले परिवर्तनको अनुभूति गर्न सकेका छैनन ।”
नयाँ सङ्घीय संरचनाअनुसार कैलालीमा कायम गरिएका १३ वटा स्थानीय तहमध्ये मोहन्याल गाउँपालिका र चुरे गाउँपालिका चुरे पहाडी क्षेत्रका गाउँपालिका हुन् । समूद्र सतहदेखि एक हजार १०० देखि एक हजार ७०० मिटरको उचाइमा रहेको यो गाउँपालिकाको जनसङ्ख्या झण्डै २२ हजार छ । रासस