चितवन – आज सेप्टेम्बर २९ अर्थात विश्व मुटु दिवस । विश्वभर नै विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरी विश्व मुटु दिवस मनाइँदैछ ।
विश्व मुटु दिवसको अवसर पारेर नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवनले साइकल र्याली सम्पन्न गरेको छ । “एक सपना साईकल र सफा नेपालकाे” अभियान समेतको संयुक्त आयोजनामा “मन लगाउ, मुटु बचाउ` भन्ने नाराका साथ आज (मंगलबार) सचेतनामूलक साईकल र्याली सम्पन्न गरिएको हो ।



बिहान ७:०० बजे भरतपुर महानगरपालिका वडा नं १ स्थित नारायणगढ बसपार्कबाट शुरु भएको र्याली दियालाे राेड, मेनराेड, पुलचाेक, शहिदचाेक, केन्द्रीय बस टर्मिनल चाेक, बाईपास राेड, आपटारी हुँदै पुनः नारायणगढ बसपार्कमा पुगेर सम्पन्न भएको थियो । र्यालीमा ७८ जना साइकल यात्रीसँगै करिब ९० जनाले उपस्थिति जनाएका थिए ।
औपचारिक कार्यक्रममा नेपाल हृदयरोग प्रतिष्ठानका जिल्ला सभापति नारायण सिंह कुंवर, केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश संयोजक ई भोजराज कौडेल, प्रदेश सचिव लिलाराज खरेल तथा एक सपना साईकल र सफा नेपालकी अभियन्ता रूक्मिणी सापकाेटा घिमिरेले साइकलको प्रयोग गर्न र मुटुलाई स्वस्थ राख्नका लागि मन लगाउन आग्रह गरे ।
र्यालीमा नेपाल हृदयरोग प्रतिष्ठानका जिल्ला उपाध्यक्ष अशोक अधिकारी तथा रेशमलाल श्रेष्ठ, सहसचिव कृष्ण तिवारी तथा सदस्यहरू गोविन्द पाण्डे र कमल श्रेष्ठलगायतको पनि उपस्थिती रहेको थियो । सहभागीहरूलाई एक सपना साईकल र सफा नेपाल अभियान तथा नेपाल हृदयरोग प्रतिष्ठानले “मुटु बचाउ” भन्ने नारा अंकित टि-सर्ट निःशूल्क उपलब्ध गराएको थियाे भने नारायणगढ बसपार्क टाेल सुधार समिति तथा सुमन मिनरल वाटरले पिउने पानीको व्यवस्था गरेका थिए ।


