पर्यटन व्यवसायलाई चलायमान बनाउन सौराहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

एटुजेड समाचार

चितवन – कोरोना संक्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् ।

कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताए । उनले भने “व्यवसायको प्रकृति अनुसार २० देखि ३० प्रतिशतसम्म छुट समावेश गरेर एक साताभित्र प्याकेज सार्वजनिक गर्छाै ।”

लकडाउनले थला परेको सौराहाका व्यवसायीले सन् २०२० मा सरसफाई र सम्पूर्ण तयारी गर्ने, सन् २०२१ मा व्यापक प्रचारप्रसार गरी सन् २०२२ मा पर्यटन व्यवसायलाई पूर्ववत अवस्थामा फर्काउने गृहकार्य थालेका छन् ।

भट्टराईले देशका प्रमुख शहरहरुमा घुमौ चितवन अभियानका साथ जाने बताए । उनले भने “प्रमुख शहरहरुमा सरोकारवालाहरुलाई राखेर चितवन वा सौराहा साँझ कार्यक्रम गर्नेछौं ।” । ती कार्यक्रमका लागि जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका, पर्यटन बोर्ड लगायतका संघ संस्थासँग समन्वय भईरहेको उनले जानकारी दिए ।

आउँदो दुई वर्षसम्म आन्तरिक पर्यटकको भरमा व्यवसाय टिकाईराख्ने व्यवसायीको योजना छ । “कमाउनुभन्दा पनि व्यवसाय टिकाउन हामी लागिपरेका छौं ।” भट्टराईले भने “दुई वर्षपछि हामी पूर्ववत् अवस्थामा फर्किन्छौं ।”

पर्यटन दिवसका अवसरमा सौराहाका पर्यटनसँग सम्बन्धित क्षेत्रीय होटल संघ सहित ११ वटा संघ संस्थाले कार्यक्रमको आयोजना गरेका थिए । सो अवसरमा रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दुवाडीले सुरक्षाको मापदण्ड पूर्णरुपमा अपनाएर व्यवसाय सञ्चालन गर्न अनुरोध गरे । उनले आश्वासन दिए “अब सौराहा शुन्य हुँदैन । नगरपालिका तपाईहरुको साथमा छ ।”

कार्यक्रममा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) का अध्यक्ष दिपेन्द्र खतिवडाले हप्ताको दुई दिन बिदाको निर्णय भएमा पर्यटन व्यवसायमा केही सहयोग पुग्ने बताए । सन् २०२२ सम्म विदेशी पर्यटक आउने सम्भावना कम भएकाले देशदर्शन अभियान गर्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा युनाईटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ, साना पर्यटन व्यवसायी संघका अध्यक्ष सरस्वती चालिसे र बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले सौराहामा कोभिड नियन्त्रणका लागि सरकारले लागू गरेको सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय शुरु भएकाले सन्देश प्रवाह गरिदिन अनुरोध गरे ।

सौराहामा १२० होटल र एक सय हाराहारी रेष्टुरेण्ट छन् । सौराहाका होटलमा पाँच हजार पाँच सय जनाको क्षमता रहेको छ । गएको चैत ११ गतेबाट बन्द रहेका होटल असोज १ गते यता क्रमशः सरसफाई र खुल्ने क्रम शुरु भएको छ ।

संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार आधा हाराहारी होटल खुलेका छन् । पुनः निषेधाज्ञा हुने हो कि भन्ने चिन्ताले सम्पूर्ण व्यवसायी पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । लकडाउनको अवधिमा बीचको समयमा १५ दिन होटल खुल्दा ठूलो नोक्सान भएकाले पुनः सञ्चालन गर्न व्यवसायी हच्किएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटक बस्ने मुख्य ठाउँ सौराहा हो । निकुञ्जले जीप सफारी बाहेक अन्य पर्यटकीय गतिविधि खुल्ला गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु