चितवन – नेपाल क्रिकेट संघ (क्यान) ले चितवनमा निर्माणाधिन गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेको छ । क्यानले आज (मंगलबार) बिहान भरतपुरको रामपुरमा निर्माणाधिन रंगशलाको अवलोकन गरेको हो ।
केन्द्रीय सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन सिंह सहितको टोलीले रंगशाला निर्माणको अवस्था बारे जानकारी लिनका लागि अवलोकन भ्रमण गरेको क्यान बागमती प्रदेशका कोषाध्यक्ष अनिल अधिकारीले जानकारी दिए ।



अवलोकनको क्रममा क्यानका सचिव प्याकुरेलले रंगशला निर्माणका लागि आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाए । यस्तै उनले रंगशालामा ट्रेनिङ क्याम्पका लागि आवश्यक सहयोग गर्न क्यान तयार रहेको समेत बताए ।
बोर्ड बैठकको लागि क्यानको केन्द्रीय टोली चितवन आएको हो । सोही मौकामा क्यानले निर्माणाधिन रंगशलाको अवलोकन गरेको हो । क्यानको बोर्ड बैठक अहिले भरतपुरको होटल गार्डेन रिसोर्टमा बसिरहेको छ । कोरोनाको कारण नियमितरुपमा हुन नसकेको क्यान बोर्ड बैठक पहिलो पटक उपत्यका बाहिर बसेको हो ।
बोर्ड बैठकमा अहिलेसम्मको कायको समीक्षा गर्ने नै मुख्य विषय हुनेछ । बैठकले असोज मसान्तमा साधारण गर्ने गरी तयारी गर्ने बताइएको छ । यस्तै बैठकमा २०२० को राष्ट्रिय खेलाडीको केन्द्रीय सम्झौतालगायत विषयमा पनि छलफल हुने सम्भावना रहेको छ ।