धरान – कोरोना भाइरसको संक्रमणबाट धरानमा २ जनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको इनरुवा-४ की ४९ वर्षीया एक महिला र झापाको मेचीनगर-८ की ७२ वर्षीया वृद्धा छन् ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ४९ वर्षीया महिलाको सोमबार बिहान ५ बजे र ७२ वर्षीया वृद्धाको आइतबार राति ९:२० बजेको समयमा मृत्यु भएको हो ।


४९ वर्षीया महिला उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्याका कारण प्रतिष्ठानको मेडिसिन वार्डमा भदौ ३० गते भर्ना भएकी थिइन् । सोही दिन पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा असोज १ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
यस्तै झापाको मेचीनगरकी ७२ वर्षीया वृद्धा भने श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरमा कमजोरी र निमोनियाको लक्षण देखा परेर असोज ४ गते प्रतिष्ठानमा भर्ना भएकी थिईन् । भर्ना भएपछि पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।