काठमाडौं – आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार (५ असोज) बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ । तर, उक्त पत्रमा यात्रु रहने सिट संख्याका बारेमा केही उल्लेख छैन ।मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक वायुसेवा कम्पनीले उडान गर्न सक्ने भएका छन् ।
यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने बताएका थिए ।तर, पर्यटन मन्त्रालयले त्यसमा सहजीकरण गरेको हो । मन्त्रालयका अनुसार पूर्वनिर्धारित सुरक्षा सतकर्ताका विधि भने सबै एयरलाइन्सले अपनाउनु पर्ने भएको छ ।
२१ सेप्टेम्बरबाट ९ दिन (३० सेप्टेम्बर २०२०)सम्म भने साविकका हुने आन्तरिक उडानको तुलनामा मात्र २५ प्रतिशत उडान हुने भएको छ । तर, उडान भने सबै विमानस्थलमा हुनेछ ।
यस्तै हवाई यात्रा गर्दा तत्काल भाडा भने नबढ्ने भएको छ । सरकारले भाडा बढाएर ५० प्रतिशत मात्र सिटमा यात्रु बोक्न वायुसेवा कम्पनीलाई प्रस्ताव गरेको थियो । तर, वायुसेवा कम्पनीले भने भाडा नबढाउने तर पूर्ण क्षमतामा यात्रु बोक्न पाउनु पर्ने अडान राखेका थिए । सोहीअनुसार साविकको तुलनामा हवाई भाडा बढी नहुने वायुसेवा संचालक संघका सदस्य प्रज्वल थापाले जानकारी दिए ।