काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा उत्साहपूर्ण काम भइरहेको बताएका छन् । छैटौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा मन्तव्य दिँदै प्रधानमन्त्री ओलिले कोरोना नियन्त्रणमा सरकारले उल्लेख्य काम गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपालमा पहिलो केस फेला पर्दा हङकङमा परीक्षण गर्न पठाउनु परेको स्मरण गराउँदै अहिले मुलुकभित्र ४८ ठाउँबाट पीसीआर र आरडीटी परीक्षण भइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले २ हजार रुपैयाँ शुल्कमा कोरोना परीक्षण गरिराखिएको बताउँदै कुल जनसंख्याको दुई प्रतिशतको कोरोना जाँच गर्ने सरकारको लक्ष्य पूरा हुन लागेको पनि बताए ।
“डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो,” उनले भने, “तर कोरोना नियन्त्रणमा उत्साहपूर्ण प्रगति देखापरेको छ ।”उनले कोरोनाका कारण अन्य मुलुकको आर्थिक अवस्था चौपट भए पनि नेपालमा त्यस्तो अवस्था नरहेको र असर पनि नपरेको दाबी गरे ।