बेसहाराको वेदना :‘काम पनि पाइदैन, माग्ने ठाउँ पनि छैन ।’

सूर्यप्रसाद अधिकारी
चितवन – नारायणी नदी आफ्नै सुरले कलकल वगिरहेकी छिन । बर्षायाम भएपनि त्यो नदीमा कुनै गर्जन छैन कुनै गडगडाहट छैन । शान्त छ तर केही धमिलो छ । लकडाउन अघि यसैको किनारको चौरमा भने धेरै थरीका मानिसहरुको भीड हुन्थ्यो । कोही नदी अवलोकन गर्न आउंँथे त कोही टहलिन आउंँथे । तर केही हप्तादेखि भने नारायणी नदीको काख वेशाहाराको धर्मशाला अनि आश्रयस्थल बनेको छ । त्यहांँ अहिले बिहानै देखि भिन्न भिन्न उमेर समुहको झुण्ड देख्न सकिन्छ । कतै एकै परिवारका सदस्यको भलाकुसारी हुन्छ छ । त कतै बृद्ध बृद्धा, जोगी ,मगन्तेको जमघट हुन्छ । तर उनीहरु कुनै घुम्न,टहलिन आएका समुह होइनन, पेट भर्न आएका भोकाहरुको समुह हो ।
तर त्यसकै आडैमा बिहान ६ बजेदेखि खाना पाकिरहेको छ । शायद त्यही खाना पाउने आशमा उनीहरु जम्मा भएका होलान् । खाना बनाएर भाग लाउने ठाउंंँको आडैमा एउटा पांँच बर्षको बालक भने कहिले पकाएको हेरिरहन्छन , कहिले यता उता गरिरहेका छन । खाना पाकिसकेपछि भने माइकको आवाज आउंँछ,‘ सबै अनुशासन भएर हात धोएर खानाको लागि तयार हुनुहोला ।
डोरीले टाँगेर खाना खाने स्थान नजिकै बच्चाहरुको लागि खाना खाने ठाउंँ अलग्गै छुट्याइएको छ माइकको आवाज खस्न नपाउंँदै ती बालक पलेटी मारेर बसिहाले । करीब यो बिहिबार बिहानको ११ बजेको कुरा हो । उनी यहाँको नियमित क्रियाकलपाबाट शायद अभ्यस्त भएर होला उनी शान्त रुपमा खानाको लागि व्यग्र प्रतिक्षामा छन ।
२१ दिन देखि यहांँ बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाले यो किनारमा निःशुल्क खाना खुवाईरहेको छ । पांँच बर्षका उनी रोशन डल्लाकोटी र ११ बर्षका दाई रुपेश डल्लाकोटी संँगै उनी एउटै लाइनमा बसेरनै खानाको प्रतिक्षामा थिए । संस्थाले पहिले सबैलाई पानी बांँडेपछि मात्र खाना बाँड्दो रहेछ । त्यसको करीब आधाघण्टा पछि मात्रै सबैलाई प्लेटमा भाग लगाएपछि खाना बाड्ने हुँदा तयार गर्ननै आधा घण्टा लाग्दो रहेछ । छेउमै रहेका ती बालकलाई संस्थाका सदस्य रबि ढकालले खाना पहिले उनलाईनै दिए ।त्यसपछि संँगै रहेका उनका दाईलाई ।
खाना लिने बित्तिकै उनको आत्मा खुशी भएर आयो, अनि भात लिँदै ती बच्चाले ढकालको मुखमा हेर्दै भने,‘ अंकल भोलि पनि खान पाईन्छ !’ उनले तत्कालै जवाफ फर्काए, ‘पाइन्छ बाबु पाइन्छ । ’अनी ढुक्क जस्तै भएर उनले प्लेटमा हात हालेर खान शुरु गरे । अहिलेको लकडाउनको समय मध्यमबर्गीय परिवारलाई त दैनिक दुईछाक खान चिन्ता भइरहेको बेला उनलाई आजको चिन्ता दुर हुने भएपनि भोलिको खान पाईदैनकी भन्ने चिन्ता हुनेनै भयो ।
उनका दाई रुपेश डल्लाकोटी पनि भाईसंँगै खाना खादै थिए । फेरी ढकाललाईनै सोधे,‘अंकल मासु हो ?’ संस्थाले दालको मुल्य भन्दा मासुको मुल्य तुलनात्मक रुपमा सस्तो पर्ने भएकोले दालको सट्टा मासुमा झोल हालेर दिने गरेको रहेछ । यी अबोध बालकहरुलाई के थाहा भोलि खान पाइने हो कि हा्ेइन ? उनीहरुलाई अझै विश्वास छैन देशको अवस्था अझ यस्तो कहिल्यै सम्म हुने हो ।
शायद झण्डै ६ महिनाको लकडाउन कारण अनियमित बनेको उनीहरुको पेट भराई फेरी अनिश्चित हुन्छ कि भनेर । यी बालक संँगै उनको ५ जनाको परिवार दैनिक खाना खान यहींँ आउँदो रहेछ । उनका बाबु ठेला चलाउने। आमा र ठूलो दाई कवाडी सामान संकलन गर्ने । यी दुईभाई सानो भएर होला आमाको पछि पछि गएर सघाउने गर्थे । अहिले यिनिहरुको दिनचर्यापनि व्यापक परिवर्तन आएको छ । ‘पहिलेत कवाडी पनि थुप्रै पाइन्थ्यो ,अहिले त सबै बन्द छ कमाई नै छैन ।’ कवाडी बेचेर पनि खान नपुग्ने भएपछि शुरुकै दिनबाट यो परिवार यहाँ खाना आएको रहेछ । ‘बुढा ठेलामा मण्डीमा हुनुहुन्छ होला, काम खोज्दै हुनुहुन्छ होला एकछिन पछि आउनुहुन्छ ।’ ती बालककी आमाले बेलिबिस्तार लगाइन ।
उनीहरुको परिवार तरकारी मण्डी पसलको सटरभित्र गुजारा गरिरहेका छन । लकडाउन अघि कोठा भाडामै बस्दै आएपनि , कमाई नभएपछि मण्डी साहुले सटर कुर्न ती परिवारलाई आश्रय दिएको रहेछ । अहिले श्रीमान , ठूलो छोरा र उनको कमाईनै छैन , भईहालेपनि दिनको दुईसय तीनसय कमाइले खानसमेत नपुग्ने उनले बताइन ।
यहांँ अहिले दैनिक ज्याला मजदुर, जोगी, वेवारिसे, अपांग , बृद्धबृद्धा सबैको भोक मेटाउने थलो भएको छ । तर यी परिवार प्रतिनिधि घटनाका पात्र मात्र हुन । यहांँ आउने ३ सातादेखि तीनसय देखि ४सय जनाको एउटै व्यथा छ । ‘काम पनि पाइदैन, माग्ने ठाउँ पनि छैन ।’
अर्का नुवाकोट ,बाट आएका लाल बहादुर लामाको जोडी पनि चितवन आएर ज्याला मजदुरी गरेको झण्डै २० बर्ष नाघेछ । तर उनीहरुले अहिलेसम्म मागेर खाएको भने पहिलो पटक हो । ‘म ठेला चलाउंँथे, बुढी कवाडी बटुल्छे । अहिले मेरोपनि काम छैन, कवाडी पनि पाईदैन । ठेलामै चढेर भात खान सधै यही आउंँछौ ।’ ती जोडीले व्यथा विसाए ।
लकडाउन अघि उनीहरुले गैडाकोटमा मासिक १५०० तिरेर भाडामा बसेपनि काम नभएपछि र भाडा तिर्न नसकेपछि घरवेटीले चापीनै लगाइदिएको उनीहरुले सुनाए । ‘३ महिना जति भयो चापी लगाको , पैसा नतिर बरु कोठा छोड भन्यो । कोरोना सर्छ भन्छ ।’लामाकी श्रीमती किंकर्तव्यविमुढ बन्छिन । धेरैबर्ष उही घरवेटीले मायाले व्यवहार गरेपनि अहिले भने अगाडीनै पर्न नचाएको उनीहरुको भनाई छ । त्यसैले उनीहरुको घरभनेपनि डेरा भनेपनि सडकको पेटीनै सहारा बनेको छ ।
उनीहरुमात्र होइन यहांँ उनीहरुजस्ता सयौं व्यक्ति सडकमा आएका छन । कोही घर छोडेर सडकमा कोइ, डेरा छोडेर सडकमा आउने क्रम बढ्दो छ । उनीहरुका लागि नत स्थानीय सरकारले केही गर्न सकेको छ नत कुनै एनजीओ आइनजिओनै अगाडि सरेका छन ।
‘शुरुवामात मेरै पैसाले खुवाएंँ , त्यसपछि दाताहरुले सहयोग गर्नुभएको छ ।’ संस्थाकी अध्यक्ष सीता कुंँवरले भनिन । उनका अनुसार दैनिक ४सयको हाराहारी त्यस्ता वेवारिसे, बेशाहारा खाना आउंँछन । हाल दैनिक एक छाक खुवाउन पनि १८ हजार खर्च लागेपनि बिहीबार देखि बेलुका पनि खाना खुवाउन लागेको उनले बताईन । हाल संस्थाले भात, तरकारी, अचार र मासु सहितको खाना खुवाईरहेको छ । ‘अबदेखिभने भात मासु अचार दिने बिचार गरेका छौं । धैरैजनालाई पनि पुग्छ धेरै दिनसम्म पनि पुग्छ ।’ उनले भनिन । तरकारीको तुलनामा मासु प्रतिकेजी १७० मा पाइने भएको र बेसाहारा समेत सन्तुष्ट भएकोले मासु , भात र अचारलाई निरन्तरता दिने उनको भनाई छ ।
‘अहिले विभिन्न संस्थाबाट , विदेशमा बस्ने नेपालीबाट सहयोग आइरहेको छ । त्यसैले अहिले दुईछाक खुवाउन सक्षम छौं ।’ उनले भनिन । हुनत त्यहांँ लियो, जेसिज जस्ता सस्थाले पनि श्रम सहयोग गरिरहेका छन । तर यो अभियान निरन्तर दिन सकिन्छ कि सकिदैन भन्ने बिषयमा भने आफू अन्यौल रहेको उनले बताईन । लकडाउन कति लम्बिन्छ , बेसहारा भोकाहरु कति बढ्छन , हामीले सक्ने दिनसम्म निरन्तर दिन्छौ ।’ उनले सुनाईन ।
।
तपाइँको प्रतिक्रिया