काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न आज दिउँसो सो पार्टीको सचिवालय बैठक बस्दैछ ।यसअघि यही भदौ १३ गतेका लागि निर्धारित सचिवालयको बैठक आज बिहान ११ बजेका लागि राखिएकामा दिउँसो ३ बजेका लागि तय गरिएको नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
आजको बैठकका राष्ट्रियसभामा रिक्त मनोनित कोटामा सदस्य सिफारिशबारे पनि छलफल हुने जनाइएको छ ।अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।



प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शिघ्र पूरा गर्ने लगायत सुझाव छन् ।
यसअघि भदौ १ गतेको सचिवालय बैठकले कार्यदललाई बधाई ज्ञापन र अनुमोदन गरेको थियो । नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएपछि कार्यदलमार्फत समाधान निकालिएको हो ।रासस