चितवन – नेपाल विद्यार्थी संघ चितवनले सबै प्रकारका बिरामीहरुलाई सक्दो उपचार सेवा दिन जिल्लाका अस्पतालहरुसँग माग गरेको छ । आज (बुधबार) अध्यक्ष सुर्य ढकालद्धारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै नेविसंघ चितवनले यस्तो माग गरेको हो ।
नेविसंघले मेडिकल सिटी मानिने चितवनमा नै बिरामीले उपचार नपाउनु दु:खद भएको जनाएको छ । बिभिन्न बाहनामा नाम चलेका स्वास्थ्य संस्थाहरुले नै कोभिड १९ संक्रमित तथा अन्य बिरामीहरुको उपचार गर्न नमानेको भन्दै गुनासो आइरहेकोप्रती गम्भिर ध्यानाकर्षण भएको जारी विज्ञप्तीमा उल्लेख छ ।
यस्तो कठिन घडीमा आफ्नो दायित्व र कर्तब्य सम्झी सम्पूर्ण प्रकारका बिरामीहरुलाई आफुले सक्ने जती सेवा दिन उसले जिल्लाका अस्पतालहरुलाई आग्रह गरेको छ । ‘जसरी कक्षा कोठामा गएको शिक्षकले आफुले जाने/सिके जती शिक्षा विद्यार्थीहरुलाई दिन्छ, त्यस्तै युद्धमा होमिएको सिपाही आफु बाचुञ्जेल लड्छ त्यसै गरी यो यस्तो कठिन घडीमा आफ्नो दायित्व र कर्तब्य सम्झी सम्पूर्ण प्रकारका बिरामीहरुलाई आफुले सक्ने जती सेवा एवं उपचार गर्नका लागि सम्पूर्ण स्वास्थ्य संस्थाहरुसँग जोडदार माग गर्दछौं’ – विज्ञप्तीमा उल्लेख छ ।
स्वास्थ्य संस्थाहरुले अनेक बहानामा बिरामीको उपचार गर्न नमाने नेविसंघ र सम्पूर्ण जनसमुदायले भोलिका दिनमा मुल्याङ्कन गर्ने समेत विज्ञप्तीमा उल्लेख छ । यस्तै कठिन परिस्थितीमा व्यक्तिगत प्रवाह नगरी अहोरात्र खटिने स्वास्थ्यकर्मीहरु प्रती सम्मान प्रकट गर्दै नेविसंघले स्वास्थ्यकर्मीहरुलाई सम्मानजनक व्यवहार गर्न पनि अनुरोध गरेको छ ।
सोमबार अस्पताल चाहार्दा चाहार्दै अन्तिममा भरतपुर अस्पताल पुगेका भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, १८ वर्षीया र युवती पूर्वीचितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको ज्यान गएको थियो । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परिक्षण गनुपर्ने भन्दै अन्तिम अबस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमा नै मृत्यु भएको हो । मृत्यु पश्चात कोरोना परीक्षण गर्दा तिनै जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।