मनिका विश्वकर्मा,
चितवन – ‘मलाई मेरो भन्दा बच्चाको चिन्ता छ । कसले पालिदिन्छ ,कसले हुर्काइदिन्छ ।’ – सुष्मा गुरुङ्ग ।
भनिन्छ, एउटा आमाले आफ्ना सन्तानलाई आफूभन्दा बढी माया गर्छिन । सन्तानको पेट भरिए आमाको पेट भरिन्छ। सन्तानलाई पीडा भए आमालाई पीडा हुन्छ । सन्तान हांँसे आमा हाँस्छिन । त्यसैले पनि आमा शब्दलाई उच्च सम्मान गरिन्छ ।


यहांँ पनि एउटै यस्तै एउटा कहालिलाग्दो कथा छ जुन सुन्दा पनि आङ्ग सिरिङ्ग हुन्छ । एउटी महिला जो आफू जीवन र मरणको दोसांँधमा रहेपनि २४ सै घण्टा सन्तानकै भवष्यिमा तड्पिरहन्छिन । लाउँलाउंँ र खाउंँ खाउंँ उमेरकी उनको टाउकोमा अहिले ठूलो पहाडले थिचेजस्तै भएको छ । एकातिर कोरोनाको कारण श्रीमान बेरोजगार बन्नुपरेको व्यथा अर्को आफ्नो दुईवटै खुट्टा काट्नुपर्ने अवस्था । यति स्वर्गजस्तो संसार उनको लागि अहिले विरानो र विरक्त लाग्न थालेको छ । कारण सामान्य मानिस जस्तै हिडडुल गर्ने , छमछम नाच्ने उनी हिड्न त के । उपचार गर्न नसक्ने अवस्थामा पुगेकी छिन। यी हुन भरतपुर महानगरपालिका वडा नम्बर १० मा भाडामा बस्दै आएकी २४ बर्षकी सुष्मा गुरुङ्ग ।
उनको विगत भन्दा वर्तमान कहाली लाग्दो बनेको छ । ‘मेरा सबै सपना चकनाचुर भए, यो जुनी मेरा लागि यस्तै भयो ।’ उनी धिक्कारिन्छन । हुन पनि उनलाई यस्तो अनुभव किन नहोस ।
भरतपुर १० स्थित सिनर्जी एफएम पछाडि साना जस्ताले छाएको घरमा केही वर्षदेखि दिन सुन्नीएको , कुहिएको खुट्टा लिएर दिन गुर्जादै छिन् । ६ महिनाको छोरो, श्रीमानसहित उनी उपचारको अभावमा उनको आँसु नै औषधी बनेको छ ।
सानैदेखि नृत्यमा पारंगत सुष्मा भविष्यमा राम्रै नृत्यांगना बन्ने योजना बुन्दै थिइन् । तर एक दिन यस्तो दिन आयो उनका लागि संसार अन्धकार भयो । उनका लागि प्रगतिका चारै ढोका बन्द भइदिए ।
उनका खुट्टा एक्कासी सुनिन थाले, फोका उठ्न थाले । सामान्य परिवारकी उनले यसलाई सामान्यनै होला भन्ने सोचिन । तर उनको खुट्टा सुनिन कम हुनुको सट्टा झन् झन् बढ्न थाल्यो । त्यसपछि स्थानीय जडीबुटीकै उपचार गरिन गइन । ‘चिसोले होला भनेर पहिले वास्तै गरिन पछि यतैको जडीबुटी औषधी बनाएर खाएंँ तर सुनिएको खुट्टा २० को १९ भएन ।’ उनले शुरुवाती क्षण सम्झिइन । तर उनमा विश्वास, धैर्य ,साहस आँट गुमेको थिएन ।
यसको केही समयपछि प्रेममा परेकी सुष्माको २१ वर्षको उमेरमो घर नजिकैको रुपेश गुरुङसंग प्रेम विवाह भयो । बिहे भएको केहीवर्ष पछि सुष्माको खुट्टा पहिलाको जस्तै सुन्निन थाल्यो । सुनिएपछि खुट्टा दुख्ने, फोका जस्ता घाउहरु देखा पर्न थालेपछि भने उनी अलि आत्तिइन । त्यसपछि उनी भरतपुरको पुरानो मेडिकल अस्पतालमा जचाउंँन गइन । ‘डाक्टरले चिसोले नै गर्दा हो भनेर चिसोकै औषधी लेखिदिए । तर औषधी खाएपछि झन झन् धेरै खुट्टा सुन्निन थाल्यो ।’ उनले भनिन ।
औषधिले केही नलागेपछि सासु ससुराकै सल्लाहामा धामी झांँक्रीकोमा दौडिए । तर पनि धामी झांँक्रीको उपचारले पनि केही सीप लागेन । ‘त्यसपछि चितवन मेडिकल कलेज उपचार गर्न गएंँ , त्यहाँ दिएको औषधीले पनि केही भएन । ज्याला मजदुरीबाट जोगाएको पैसा सबै सकियो ।’ उनी निराश हुन्छिन ।
सबै ठाउंँमा चाहार्दा पनि उनको खुट्टा सञ्चो हुने संकेत नभएपछि उनी घरमै रोग पालेर बस्न विवश भएकी छिन । यसबीचमा सुष्माको गर्भको बच्चा पनि हुर्कदै थियो । एकातिर खुट्टाको पीडा अर्को गर्भको बच्चाको पीर । यो गरिब परिवारमा दैव पनि उनीहरुमाथि यसरी खनियो । श्रीमान अटोरिक्सा चलाएको पैसाले खान त मुश्किल हुने बेला उपचार कहा नै गर्न सकिन्थ्यो तर । माइतीको आमाको सहयोगले बिरामी र कमजोरी सुष्माको शल्यक्रिया गरेर बच्चा निकालियो । बच्चा जन्मिए पनि सुष्माको स्तनबाट दुध आएन । उनले अहिले बच्चाको लागि ठेक्का गरेर दुध खुवाछिन् ।
। ‘पहिले माइती घर नजिक हुंँदा त केही सहयोग पाएको थिएंँ , अहिले टाढा भएंँ सबै विरानो भए ।’ उनी भक्कानिन्छन ।
अहिले त उनलाई झन भित्र बाहिर गर्न पनि गाह्रो छ । उपचार गर्ने मन आखिर कस्को हुदैन र? जिन्दगीसंँग हार खाएकी उनी भन्छिन, ‘मलाई पहिल्यै आत्महत्या गरेर मरौं,जस्तो लागेको थियो, छोराको मायाले मेरो सास अल्झिएको छ ।’
अहिले केहीबर्ष भयो सुष्माले उपचार गराउन पाएकी छैनन । खुट्टा झन सुनिएर घाउ भएको छ, घाउ भित्रभित्रै कुहिएर गनाउन थालिसकेको छ ।
आफ्नै परिवारभित्र त नअटाएकी उनको अब आफ्नो भन्नु त्यही श्रीमान र छोरा बाहेक कोनै छर ? उनमा अझपनि पैसा भए रोगको उपचार हुने आश छ । तर उनलाई यसको उपचार भन्दा पनि डाक्टरले दुईवटै खुट्टा काट्नुपर्ने सल्लाह दिएका छन ।
राम्रोसँग दुध खुवाएर बच्चालाई पाल्न नसक्ने त्यो परिवारले खुट्टा काटेर फाल्न कहांँ नै सक्छ र?
‘मलाई मेरो भन्दा बच्चाको चिन्ता छ , कसले पालिदिन्छ ,कसले हुर्काइदिन्छ । ’उनले विवशता सहित बीट मारिन् ।