संक्रमित नर्सको आत्मविश्वास: छिट्टै निको भएर उच्च मनोबलका साथ बिरामीको सेवा गर्नेछु

एटुजेड समाचार

चितवन – चितवनमा पछिल्लो केही दिनयता ठुलो संख्या कोरोना भाइरस संक्रमितहरु भेटिरहेका छन् । आज (बिहीबार) बिहानसम्म जिल्लाभर २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ ।

जिल्लामा संक्रमण पुष्टि भएका २८१ मध्य ३० जना स्वास्थ्यकर्मीहरु रहेका छन् । जिल्लाका बिभिन्न अस्पतालमा कार्यरत चिकित्सकदेखि नर्सहरुमा गरी आजसम्म ३० जनामा संक्रमण संक्रमण पुष्टि भएको छ ।

यसैबीच भाद्र २ गते मंगलबार भरतपुर सेन्ट्रल अस्पतालका ३ नर्ससहित ५ जनामा कोरोना पुष्टि भयो । संक्रमित ३ नर्स मध्य एक हुन् – सिम्रन तिवारी । अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना देखिएपछि उनको उपचारमा संलग्न नर्सहरुको पनि परीक्षण गर्दा सिम्रनको रिपोर्ट पोजेटिभ आयो । उनी अहिले अस्पतालकै आइसोलेसनमा छिन् ।

बिरामीको उपचार गर्दा गर्दै उनी आफु पनि संक्रमित भइन् । संक्रमण पुष्टि भएपनी उनले आफु अलिकती पनि नआत्तिएको बताएकी छिन् । बरु समाजले संक्रमितलाई हेर्ने नजर सकारात्मक हुनु पर्ने उनको भनाई छ । यस्तै उनले छिट्टै कोरोनालाई परास्त गर्दै अझै उच्च मनोबलका साथ बिरामीको सेवा गर्न आफु तयार रहेको बताएकी छिन् ।

सिम्रनको कुरा उनकै शब्दमा :

काम गर्दै गर्दा कोरोना सन्क्रमित भएछु , स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद ।

म एक नर्स म आफ्नो पेशामा गर्ब गर्छु।  मलाइ थाहा छ कि म केवल सर्टिफिकेटका लागि मात्र पढेकाे होइन, जस्तो सुकै अवस्थामा पनि बिरामिको सेवा गर्न सकु र गर्छु भनेर नर्स पेशा अँगालेको हुँ । आफ्ना ब्यक्तिगत कुराहरुलाई त्यागेर निरन्तर रुपमा बिरामिको सेवामा लागिरहेको पनि केहि बर्ष भइसकेछ ।

काम गर्दै गर्दा यो अवस्था आउछ होला भन्ने सोचेको थिएनौं । तर एक्कासि संसारलाई नै तर्साउने गरि कोरोना भाइरस फैलियो। कयौ देशहरुमा हजारौ नागरिकको ज्यान गयो। बिस्तारै अवस्था जटिल बन्दै गयो। बिस्तारै संक्रमितहरु नेपालमा पनि देखिन थाल्यो। तर कहिल्यै हतोत्साहित नभई निरन्तर आफ्नो कर्ममा लागिरहे । मैले सोचे कि म एकजना नर्सले गार्हो हुने भयो, म संक्रमित हुन्छु कि भनेर आफ्नो काम छोड्ने हो भने हालत के होला ? अग्रजहरुको सल्लाह सुझाबलाइ ग्रहण गर्दै काममा लागिरहे ।

घरमा बुवा आमा भाइ बहिनीलाई आफैले सम्झाए, म मा मात्र सिमित छैन बाबा ममी मैले समाजका लागि काम गर्नु पर्छ । म यतिखेर घरमा काम नगरि बस्ने हो भने मैले नर्स पेसा अँगालेको अर्थ हुदैन, नाअत्तिनु म सुरक्षित भएर बिरामिको सेवा गर्नेछु भनेर घर परिवारलाइ सम्झाउदै आफ्नो कर्ममा लागिरहे ।

कयौ रात बाबा ममी निदाउनुभएको छैन, कतै छोरि संक्रमित त हुने होइन भनेर, भोली समाजले के भन्ला छि छि र दुर दुर गर्ला भन्ने चिन्तामा परिवार हुनुहुन्थियो। केहि दिन अगाडी अस्पतालमा उपचार गराईरहनुभएका बिरामीमा कोरोना पोजेटिभ भयो रे भन्ने सुने । उहाँहरुलाई सधै हामीले रेखदेख गरिरहेका हुन्थ्यौं । एक्कासि त्यस्तो सुनेपछि एकछिन त अनेक कुरा सोच्न पुगेछु । पछि आफुलाई सम्हाले, त्यसपछि हामीलाई छुटै ठाउँमा राखियो । त्यसको पर्सीपल्ट म लगायत हामी साथिहरुको कोरोना टेस्टका लागि स्वाब लगियो, नभन्दै हाम्रो रिपोर्ट पनि पिजिटिभ आयो। एकछिन तनाबमा रहे, कसरि घर भन्ने होला अब के हुने हो भन्ने भयो।

आफुलाई सम्हाले, म आज कमजोर महसुस गरे पनि मेरो परिवारलाइ चिन्ता हुन्छ, समाजलाइ चिन्ता पर्छ मैले मनोबल दह्रो बनाउनुपर्छ भन्ने सोचेर अहिले आफ्नो मनोबल उच्च बनाएर मैले यो रोगलाइ परास्त गर्छु भन्ने आत्मबिश्वास लिएको छु, फेरि परास्त गर्छु पनि।

आज मलाई गर्ब छ, म आत्तिएकी छैन । बिरामिको सेवा गर्दा, कर्म पुरा गर्दा म संक्रमित भएकी हुँ । हामी संक्रमितलाई समाजले हेर्ने नजर राम्रो बनोस्। हामीले रोग रहरले सारेका हैनौं, आफ्नो जिम्मेवारी पुरा गर्दा हो। पहिला नै हामी डराएर बिरामीको सेवा नगरेको भए बिरामिको अवस्था के हुन्थियो ? सबैको सोच सकारात्मक बनोस्। संक्रमित नर्स डाक्टर सुरक्षाकर्मी लगायत आम नागरिकलाइ शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हाम्रो स्वास्थ्य लाभको कामना गर्नुहुने हाम्रो केयर गर्नुहुने अस्पताल प्रशासन , डाक्टर , नर्स, परिवार, साथि-भाइ, आफन्तजन, समाजका सबै नागरिकहरु प्रति अस्पतालको बेडबाट धन्यवाद ब्यक्त गर्दछु। सन्चो भएपछि उहि मनोबलका साथ हजारौ बिरामिको सेवा गर्नेछु। मलाई नर्स हुनुमा गर्ब छ ।

बाबा मामु न आत्तिनु हजुरको छोरि झन मनोबल दह्रो बनाएर रोगलाइ परास्त गरेर कर्ममा फर्किन्छे।  म हारेको छैन, झन म मा मनोबल दह्रो भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु