मेरो बुवा संसारको सबैभन्दा शक्तिशाली व्यक्ति।
कृपा अधिकारी,
बुवा शब्द आफैमा अर्थपूर्ण शब्द हो। संसारको हरेक कुनामा गएर खोजे पनि बुवाको अर्थ एउटा सिंगो अनुशासित र संस्कारी परिवारको रूपमा भेटिन्छ। बुवा घरको जग हो, बुवा नै परिवारको उज्ज्यालो हो। संसारको आठौँ आश्चर्य बुवा हो , जसलाई दिन मात्र आउछ , सन्तानबाट कहिल्यै लिन आउदैन।
मेरो बुवा भन्ने गर्नुहुन्छ “जिन्दगि जिउनको लागि दुई तरिका सधैँ अपनाउनु :
– जे भइराख्या छ हुन देउ , सहदै जाउ, चुक्क नबोल, दबेर बस,
– र अर्को : आफ्नो जिन्दगि आफ्नै मुठ्ठीमा राखेर आफ्नै तरिकाले जिउनु छ भने , आफ्नो जिम्मेवारी आफै उठाउ, आत्मबल दह्रो बनाउ, ति सबै उल्झनबाट आफु उत्रिनको लागि।
बुवा जब खुसि हुनुहुन्छ तब आफ्नो सन्तानलाई आफ्नो काधमा बोक्नुहुन्छ। काधमा बसाउनुको पनि छुट्टै कारण छ। बुवा सोच्नुहुन्छ कि मेरो सन्तानले त्यो सबै कुरा देखोस जुन कुराबाट म सदैब बन्चित थिए। हरेक बुवाको सपना हुन्छ, उसको बच्चाले आफुले भन्दा धेरै राम्रो गरोस्। बुवा हिम्मत हो , बुवा नै सन्तानको सुरक्ष्याकवच हो। बुवा सहारा हो , बुवा सन्तानको पहिलो मार्गदर्शन हो। मेरो बुवा नै संसारको सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति हो। मेरो बुवा नै मेरो परिवार हो। मेरो बुवा नै मेरो घरको जग हो। बुवा नै हो हामीलाई संसारमा सबैभन्दा अप्रदर्शित माया गर्ने। आमाको ओठको मिठो हाँसो बुवा हजुर हो। बुवा नै आमाको अभिमान हो , स्वाभिमान हो। बुवा नै हो हाम्रो सपनालाई पुरा गर्ने, जिम्मेवारी आफ्नो थाकेको काधमा सजाउने , बुवा नै हो आफ्नो परिवारको लागि आफैलाई आफैले पर कतै लगेर बेचिदिने व्यापारी।
बुवा हजुरले म सानो हुँदा मलाई मेरो हात समाउँदै डुलाउनु हुन्थ्यो। केहि पुराना याद कल्पन मन लाग्यो: म फतक्क गल्दा हजुर मलाई आफ्नो काधमै बोक्नुहुन्थ्यो , आफुले नदेखेका कुराहरु पनि मलाई देख्यौ? देख्यौ? भन्दै सोध्नु हुन्थ्यो ।
त्यति बेला मलाई लाग्थ्यो , मेरो बुवा त मलाई कति माथी सम्म उचाल्न सक्नुहुन्छ , मेरो बुवाले त यो घर नै उचाल्न सक्नुहुन्छ होला। बुबाले दिनरात नभनी घर माथी परिवार माथी नै आफ्नो जवानी, इच्छा, आकांक्षा सम्पूर्ण समर्पित गर्नुभयो। बुवाले आफ्ना साना भाइ बहिनीलाई सदैब माया गर्नुपर्छ भन्ने ज्ञान मेरो दिमागमा भरिदिनु भयो। केहि पाईन्छ भन्ने आशले पैसा ब्याज लगाउन दिए जस्तो होइन सम्बन्ध , एकोहोरो भएपनि उमेरको अनुभव र भोगाईले आफ्नो भाइ बहिनीलाई सुबिधा दिनुपर्छ भन्नुभयो।
मैले मेरो बुवाले गरेको मेहनत राम्रोसंग देखेकी छु। बुवा बिहानै कोदालो, हलो , फोरुवा बोकेर खेतमा काम गर्न गएको देख्दा बुवाको लागि खान बनाएर लग्थे। म भ्याकुता जस्तै बुरुक बुरुक उफ़्रिन्थे , मेरो हातको सबै खाजा पोखिएर खाना मात्र बाकी रहन्थ्यो,मेरो बुवा आफ्नो बच्चाले ल्याएको भन्दै चिसो कुवा बाट बग्दै गरेको पानीले खाना मुस्दै खानुहुन्थ्यो।
मेरो बुवाले लगाएको त्यो कछाड चुर्लुम्मै भिज्दा पनि उहा फोरुवा ले बाउसे गर्दै बस्नुहुन्थ्यो। त्यो फोरुवा ले बुवाको हातमा फोकै फोका पारिदिन्थ्यो, त्यहि फोरुवाको बिडले नै बुवाको फोका फुटाउथ्यो। हजुरले खेत रोप्ने मेलो सहज पार्दिनु हुन्थ्यो। त्यसैले त आज हामीले हिरा जस्तै टल्कने सेतो चामलको भात खान सक्यौ। जति नै दु:ख भएपनि हजुरको आँखा भिजेको कहिल्यै देखिन बुवा। हजुरको न कुनै दराज छ, न कुनै मदुस यति धेरै दु:ख हजुर कहाँ लुकाएर राख्नु हुन्छ?
दुखेको त्यो खुट्टाले सकी नसकी झीजै झिजा मसिना बासका सिम्ठा बोक्दै तरकारीको लागि झिक्रा बनाउनु भयो। तरकारी राम्रो होस् भनि डोका कै डोका मल खन्याउनु भयो , त्यसले त आज त्यो सबै झिक्रा नै हरियाली हुने गरि विभिन्न थरीका फलफूल फुलेका छन् नि है बुवा ?
मेरो सन्तानको भविष्य उज्ज्यालो होस् भनेर दुनियासंग कति झुक्नु भयो होला है ? तर आज हजुरकै सन्तानले मेहनत नै नगरी भाग्यलाई दोष दिदै बस्दा हजुरको सपना त बन्द सटर भित्र खापिदै खापिदै ढुसी लाग्दै गुम्सेको पो रहेछ।
बुवा हजुर बजार जानहुन्थ्यो तर कैयौ दिनको पसिनाको कमाइले आमालाई साडी ल्याइदिने सपना राख्नु हुन्थ्यो। बुवा हजुरको खल्तीमा पैसा नहुदा पनि त्यहि साडी हेर्दै जाने हेर्दै आउने गर्नुहुन्थ्यो। काम देखि घरमा आउन एकमुष्ठ पारेको पैसाले आमाको सुन्दर मुहारमा खुसि छर्नको लागि किन्देको त्यो साडी हेर्दा मलाई लाग्छ मेरो बुवा संग टन्नै पैसा छ।
त्यो साडी त्यति बाक्लो रैछ कि मेरी आमाले आजसम्म अर्को साडी फेरौ न भनेर बुवालाई कहिल्यै भन्नै सक्नु भएन। म अझै दोधारमै छु , आमाको साडी निकै बाक्लो थियो? या बुवाको खल्ती पातलो ? आमाको कहानी सबैको मुखबाट सुनिन्छ तर आमालाई सफल बनाउन आफ्नो काध नै दाउमा राख्ने बुवाको इतिहास कसैले पढ्दैन, किन ?
हरेक बुवाको चिन्ता हुन्छ कि मेरो सन्तानले म अपहेलित भएको ठाउँमा पाइला नटेकुन। बुवाले बारम्बार झकझकाउने पनि गर्नु भएको छ आफ्नो जिवनमा आइपरेको काडा आफै निकाल्नु पर्दछ भनी, बुवा आमाको आशमा कहिल्यै नबस्नु , जति नै हुने खाने भएनी माइतिको धाक नलगाउनु, माइतिको सम्पति भनेको मुतको न्यानो मात्र हो। बुवा आमाको अनुपस्थितिमा पनि आफ्नो जिवनलाई उत्तिकै सार्थक बनाउन सक्नु।
छोरा-छोरि भएर अर्को कुरा पनि याद गर्नु :
– जसले तिम्रो हृदयलाई प्रेम गर्छ , उसलाई हृदयदेखि सम्मान गर्नु। म मेरो सन्तानलाई मैले रोजेकोसंग विवाह गर्नु पर्छ भनेर कुनै प्रकारको करबल गर्दै गर्दिन , तर जसले तिम्रो अस्तित्वको पूजा गर्छ, त्यो मान्छेलाई ढुंगाले कदापि नहान्नु
– बिना घाउको पिडा कसैलाई नदिनु र आफुपनि नसहनु।
हजुरले आफ्ना आफन्तहरु संग कुरा गर्दा गर्दै सुनेकी छु,हजुर भन्ने गर्नुहुन्छ रे यो सबै बच्चा माथिको जिम्मेवारी हो मेरो,बुवा हजुरले कसरी सोच्नु भयो कि सबै हजुरकै जिम्मेवारी हो हामी माथि भनेर? हजारौ जुनी चुकाउन सक्दैनौ हजुरको त्यो सबै मायाको ऋण थियो हामी माथि, बुवा जब दुनियाले मुख बटारेर हिड्छन् , असफलताको आशु बनेर आँखा नै ओभानो हुन दिदैन, त्यसै बेलामा हामीलाई परबाट एक आवाज आउँछ, हामीले त्यो सुन्न सक्नुपर्छ जुन आवाज हाम्रै मुटुमा धड्किरहेको हुन्छ, अनि भन्नु हुन्छ किन? किन चिन्ता लिन्छौ ? म सधैं तिमिसंगै तिम्रै छाया बनेर हिडेको हुन्छु। बुवा तबपनी भन्नुहुन्छ मेहेनत गर, म छु। बुवाको यहि कुराले हामीलाई थप हौशला दिन्छ, त्यसैले त कम्मर कस्न सकिन्छ नि बुवाको चिन्तालाई सफलतामा बदल्न।
– कस्तो माया हो बुवा यो ? घरमा मिठो तरकारी पाक्दा हजुरलाई कहिल्यै भोक नै लाग्दैन?
– बुवा कस्तो माया हो यो ? हजुरको लहरे खोकीले हल्ला भयो भन्दै म कानमा चर्को आवाजको गीत लगाएर सुत्छु, लोडसेडिङ भएपछि हजुर उठ्नै नसक्दा पनि मेरो सामु आएर मलाई नै कापीको हाते पंखाले हम्काउँदै बस्नुहुन्छ।
कस्तो प्रगाढ सम्बन्ध यो बुवा र सन्तानको ! बच्चा थोरै पिडामा भएपनि आफै अगाडी आएर सबै दु:ख पानी पिएजस्तो घुटुक्क निल्दिन्छन्, बुवा मेरो मन बिनाकारण दुखि हुन्छ, हजुर भोकै बसेर दमित आवाजमा रुनुहुन्छ,बिना आवाज, बिना आशु बुवा रुनुहुन्छ, आफ्नो बच्चाको दु:खको काडा आफ्नै पोल्टोमा सिउरिनु हुन्छ, त्यो काडाले बुवालाई कति घोच्छ होला है? तर कहिल्यै आफ्नो घाउ देखाउनु नै हुन्न।
बुवा जिन्दगीमा प्रगति होला नहोला त्यो त अनुमान लगाउनै सक्दिन तर मनलाई बेस्सरी दुखले च्यापेको बेलामा आफ्नो बुवाको काखमा आएर रुन सके भने पनि मलाई सात जूनी रुन नपर्ने आशिश हजुरको अँगालोले दिन्छ जस्तो लाग्छ।
सानैबाट सन्तानले बुवा आमालाई प्रयोग गर्दै आयौ, कहिल्यै भिडमा हराइन्छ कि भन्ने डरले हरेक ठाउँमा आफ्नै साथ लग्यो,उहाको हात कहिल्यै छोड्नै खोजेन मात्र आफ्नो स्वार्थको लागि। जब उहाहरुलाइ हाम्रो साथको आवश्यकता रह्यो , हामी कहिले पढाईको बहानाले, कहिले आफ्नो इच्छाको बहानाले, कहिले स्वतन्त्रताको बहानाले आफूबाट निकै टाढा गर्न खोज्यौ।
त्यो बुवाआमा नै हो आफ्नो सन्तानको लागि आफुसंग भएको अन्तिम चिज पनि बेचिदिने। आमाको तीन ढिके फुलि, बुवाको लालपुर्जा बेचेर हामीले आफ्नो सपना पुरा गर्यौ तर बुवाआमाको अन्तिम श्वाशमा पनि हामी उहाहरुलाई मठमै सुताएर दराज फुटाल्दै उहाकै ज्यूनी खोज्न पनि पछि पर्दैनौ। अब हामी सबैले आफै बिचार गरौ न त के हामीहरुले उहाहरुलाई उहाहरुले जत्तिकै निश्चल माया गरेका रहेछौ त ?
म अझै पनि दोधार मै छु हाम्रो लागि दु:ख गर्दा गर्दै गलेको त्यहि शरीर माथि चढेर हामीले देखेका सौन्दर्य सपना पूरा भए, भने हामी उहाहरु संगै बसेर उहाले पूरा गरेको जिम्मेवारीको ऋण चुकाउन सक्छौ होला? या फेरी पनि बहाना बनाउंदै पर पर भाग्छौ होला ?
आफ्नो सन्तान भन्दा भन्दै परिवारलाई संस्कारी मुर्तीमा राख्दा-राख्दै , बुढेसकालमा पनि नथाक्ने त्यो बुढो काधको भारि अब हामीले आफ्नो काधमा सार्न सक्छौ होला?
बुवाले जवानीमा खर्चिएको सम्पूर्ण त्याग उहाकै इच्छाको बलिदान, उहाकै अस्तित्वको सम्मान गर्दै उहालाई नै त्यो सम्पूर्ण माया अब हामी फिर्ता गर्न सक्छौ होला ?
बुवाले हामीलाई सानो छँदा दिएको संस्कार , शिक्षा, सहि मार्गदर्शन , सुरक्षा, अप्रदर्शित माया , त्यो काधको जिम्मेवारी हामी अभिभावक हुँदा त्यो सबै कर्तव्य उहाहरुले जस्तै गरि आफ्नो सन्तानको लागि पुरा गर्न सक्छौ होला?
बुवाको सम्पति होइन बुवाको छाया आफुसंग झल्कनु नै ठुलो आशिर्वाद हो। मैले सन्सार मा सबैभन्दा बढी बिश्वास गर्ने ब्यक्ति नै आफ्नो बुवा हो, उहाँको पेट दस दिनकै भोको किन नहोस् तर उहाँले आजसम्म आफ्नो ईमान बेचेर क्षणिक खुसी हुने दुस-प्रयास कहिल्यै गर्नुभएन।
मलाई मेरो जीवनको अन्तिम क्षणसम्म आफ्नो जिवनदाताको कथा कोर्न मन छ,
सम्पूर्ण बुवाहरुमा धेरै माया, अब त आफ्नो काधको भारी बिसाइदिनुस न है?
कुशेऔशिको हृदय देखी नै सम्पुर्ण बुबाहरुमा समर्पित यो शुभकामना !
तपाइँको प्रतिक्रिया