चितवन – भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उनीहरु मध्ये तीन जनाको पिसिआर रिपोर्ट नेगेटिभ आए पछि डिस्चार्ज गरिएको हो भने अन्यको १४ दिन कटेर लक्षण नदेखिएकाले डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुनेहरुमा भरतपुर महानगरका १० जना, माडी नगरपालिकाका ६ जना, नवलपरासी बर्दघाट–सुस्ता पूर्वका २ जना र कपिलवस्तुका १ जना रहेका छन् । लक्षण नदेखिएका र १४ दिन कटेकाहरुलाई आज घर पठाउन लागिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका बताए । उनीहरुलाई थप १४ दिन सम्म घरमा छुट्टै बस्न भनिएको छ ।



उनका अनुसार डिस्चार्ज भएका मध्ये सोमबार साँझ ३ जना घर गएका छन् भने १६ जना आज जाँदै छन् । यस अघि अस्पतालबाट उपचार गराएर ९ जना संक्रमित फर्कीएका थिए । एकजनाको मृत्यु भएको थियो ।हाल सम्म भरतपुर अस्पतालमा कोरोना संक्रमित ४० जनाले उपचार गराएका छन् ।उनीहरुले भरतपुर अस्पताल र कोरोना अस्पतालबाट उपचार लिएका हुन । अस्पतालमा डिस्चार्ज पछि ११ जना उपचाररत रहेका छन् ।