आन्तरिक राजश्व कार्यालय, भरतपुरको राजश्व असुली लक्ष्य भन्दा ५५ प्रतिशत कम

एटुजेड समाचार

सूर्यप्रसाद अधिकारी,  चितवन । आन्तरिक राजश्व कार्यालय, भरतपुरमा बार्षिक लक्ष्यको ५५ प्रतिशत भन्दा कम राजश्व असुली भएको छ ।
कार्यालयले चालु आर्थिक बर्ष ०७६, ७७को ११ महिनाको अवधिमा जम्मा बार्षिक लक्ष्यको ४५ प्रतिशत मात्र राजश्व संकलन गरेको हो । यो चालु आर्थिक बर्षका लागि कार्यालयलाई ४३ अर्ब ३८ करोड ७७ लाख राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो ।

कार्यालयले दिएको जानकारी अनुसार कार्यालयले प्रतिशतको आधारमा सबै भन्दा बढी मुल्य अभिवृद्धि करमा राजश्व संकलन गरेको छ भने सबैभन्दा कम अन्तशुल्क शिर्षकमा संकलन गरेको छ । तर कार्यालयको कुल राजश्व संकलन मध्ये ८० प्रतिशत भन्दा बढी कर संकलन अन्तशुल्कबाट हुदै आएको छ । कार्यालयका अनुसार हालसम्म अन्तशुल्क शिर्षक अन्तर्गत राजश्व विभागले ३७ अर्ब ९४ करोड ४३ लाख ८८ हजार बार्षिक लक्ष्य दिएपनि हालसम्म १७ अर्ब ९२ करोड ८ लाख ८ हजार मात्रै राजश्व संकलन भएको छ । कार्यालयलाई मुल्य अभिवृद्धि करमा २ अर्ब ८ करोड ९८ लाख १९ हजार लक्ष्य दिइएकोमा १ अर्ब ७१ करोड २ लाख २१ हजार राजश्व असुली भएको छ ।

यस्तै आयकर शिर्षक अन्तर्गत ३ अर्ब ६ करोड ४७ लाख ४४ हजार लक्ष्य दिईएकोमा १ अर्ब ७९ करोड ७० लाख ११ हजार राजश्व असुल भएको छ । बहाल कर अन्तर्गत ९ करोड ३९ लाख २३ हजार लक्ष्य दिईएकोमा ४ करोड ७२ लाख ६३ हजार राजश्व असुल भएको छ । यस्तै व्याज कर शिर्षक अन्तर्गत १८ हरोड १० लाख ८३ हजार बार्षिक लक्ष्य दिईएकोमा हालसम्म १२ करोड २१ लाख ६४ हजार रुपैयांँ राजश्व संकलन भएको छ । शिक्षा सेवा शुल्क मा १ करोड ३७ लाख ४३ हजार लक्ष्य दिईएकोमा १ करोड २९ लाख ३५ हजार रुपैयांँ राजश्व संकलन भएको छ । स्वास्थ्य सेवा शिर्षक अन्तर्गत विभागले बार्षिक कुनै लक्ष्य दिएको छैन । तर बक्यौता रकम असुली गर्नको लागि जेठ महिना सम्मको लक्ष्य १ करोड ४३ लाख ३८ हजार दिएकोमा हालसम्म यस शिर्षकमा कार्यालयले २ लाख २२ हजार रुपैयांँ मात्र संकलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी कपिल नेपालले लकडाउनका कारण मदिराजन्य बस्तुको उत्पादन र कारोबार ठप्प भएकोले राजश्व असुलीमा भारी गिरावट आएको बताए । ‘फागुन देखि न भ्याट रकम संकलन भयो , नत आयकर, व्याजकर, कर परीक्षण र जरीवानानै असुली भयो ’ उनले भने । उनका अनुसार हाल बार्षिक लक्ष्य ४५ प्रतिशतको हाराहारीमा असुली भएपनि असार मसान्त सम्म शतप्रतिशतनै उठाउने लक्ष्य कार्यालयले लिएको छ । ‘उठाउने लक्ष्य त शतप्रतिशत नै हो, हेरौं कति उठ्छ ।’उनले भने ।

हाल कार्यालयमा करदाताको चाप बढ्दै गएको र अनलाईन प्रणालीबाट करदाताले कर तिर्ने क्रम बढेकोले करअसुलीको अनुपात बढ्दै गएको उनको भनाई छ । हाल आन्तरिक राजश्व कार्यालयले , चितवन जिल्ला र नवलपरासी पूर्वका करदाताहरुबाट कर संकलन गर्दै आएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु