चौरजहारी अस्पतालबाट ८२९ बाट प्रसूति सेवा

एटुजेड समाचार

रुकुमपश्चिम – रुकुम(पश्चिम)को चौरजहारी अस्पतालबाट गत ११ महिनामा आठ सयभन्दा बढीले प्रसूति सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०७६÷०७७ को साउनदेखि अस्पतालबाट प्रसूति सेवा लिनेमा रुकुम(पश्चिम), सल्यान र जाजरकोटका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले बनाएको असहज परिस्थितिका बीचमा पनि प्रसूति सेवालाई प्राथमिकता दिइएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले मातृ तथा शिशु सुरक्षालाई विशेष ध्यान दिइरहेको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताउनुभयो । नेपाल सरकारले लिएको संस्थागत प्रसूति सुधार कार्यक्रमअन्तर्गत मातृ तथा शिशु मृत्यु दर घटाउने लक्ष्य सफल पार्नका लागि अस्पतालले २४ सै घण्टा प्रभावकारी प्रसूति सेवा प्रवाह गरिरहेको उहाँको भनाइ छ ।

सरकारले जारी गरेको लकडाउन अर्थात् बन्दाबन्दीका कारण सुत्केरी हुनेलाई प्रत्यक्ष रुपमा असहज भइरहेका अवस्थामा चौरजहारी अस्पतालले भने सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । लकडाउनले प्रसूति सेवामा कुनै असर नगरेको अस्पतालका मेडिकल डाइरेक्टर डा कालेव बुढाले बताउनुभयो ।

लकडाउनकै बीचमा २४ गर्भवतीको सफल शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गत साउनदेखि हालसम्म सामान्य तथा जटिल प्रकृतिका १२४ जनालाई सफल शल्यक्रियामार्फत सुत्केरी बनाइएको छ ।

यसैबीच लकडाउन जारी भएदेखि हालसम्म १३ हजारभन्दा बढी बिरामीले अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् । जटिल तथा सामान्य प्रकारका बिरामीले सेवा लिएको अस्पतालको भनाइ छ । अस्पतालले २५ वर्ष पहिलेदेखि दुर्गम जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको तथा गरीब तथा अतिविपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छ । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु