निको नहुँदै सेती अस्पतालले ६ कोरोना संक्रमितलाई गर्‍यो डिस्चार्ज

एटुजेड समाचार

कैलाली – धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ६ जना संक्रमित निको नहुँदै डिस्चार्ज भएका छन् । अस्पतालमा उपचाररत बाबुछोरी सहित ६ जना कोरोना संक्रमितलाई शुक्रबार डिस्चार्ज गरेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

‘स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको हो ’श्रेष्ठले भने ‘लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्ने निर्देशिका आएको छ । हामीले त्यही निर्देशिकामा टेकेर डिस्चार्ज गरेका हौँ ।’
अस्पतालले शुक्रबार अछामको मेल्लेख गाउँपालिका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका– १ का २० र २७ बर्षीय पुरुष, वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरेको हो ।

उनीहरु भारतबाट जेठ ८ गते कैलालीको गौरिफन्टा नाका हुँदै नेपाल आएका थिए । सूचना अधिकारी श्रेष्ठले चिकित्सकको सल्लाहमा उनीहरुलाइ डिस्चार्ज गरेको बताए । सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले भने उनीहरु सबैको एक पटक पीसीआर विधिबाट परीक्षण गरेको र त्यसपछि नगरेको जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु