निजी क्षेत्रबाट हाइब्रिड मकैको बिउ उत्पादन
चितवन – निजी क्षेत्रबाट हाइब्रिड मकैको बिउ उत्पादनलाई तिब्रता दिईएको छ । गतवर्षबाट नेपालमा व्यवसायीक रुपमा हाइब्रिड मकैको बिउ उत्पादन थालिएको हो ।
गतवर्ष दुई स्थानमा बिउ उत्पादन गरिएकोमा यस वर्ष ६ स्थानमा बिउ उत्पादनका लागि काम भईरहेको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले बिकास गरेको रामपुर हाइब्रिड–१० जातको बिउ ती स्थानहरुमा उत्पादन थालिएको हो । कार्यक्रमका प्रमुख केशबबाबु कोईरालाका अनुसार यस वर्ष झापाको महारानी झोडा कृषि सहकारीले दुई दशमलब पाँच हेक्टरमा मकैको बिउ उत्पादन गर्दै छ । त्यहाँ सात टन उत्पादन हुने अपेक्षा गरिएको छ ।
गोर्खा सिड्स कम्पनी दाङ्ले चितवनको दिव्यनगरमा तीन हेक्टरमा बिउ उत्पादन गर्दै छ । त्यहाँ ६ देखि आठ टन उत्पादन हुने अपेक्षा छ । लुम्बिनी सिड्स कम्पनीले भैरहवामा आठ हेक्टरमा बिउ उत्पादन गर्दै छ । १० देखि १५ टन उत्पादन हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो । धनगढीको युनिक सिड्स कम्पनीले दुई हेक्टरमा मकैको बिउ उत्पादन गरीरहेको छ । जहाँ पाँच देखि छ टन उत्पादन हुने लक्ष्य लिईएको छ । धनगढीकै पञ्चशक्ति सिड्स कम्पनीले एक हेक्टरमा दुई दशमलब पाँच टन मकैको बिउ उत्पादन गर्ने लक्ष्य राखेको छ ।
बाँकेको गेट नेपालले एक हेक्टरमा बिउ उत्पादन गर्न लागेको भए पनि असफल भएको कोइरालाले जानकारी दिनुभयो । गतवर्ष झापाको महारानी झोडा कृषि सहकारीले दुई दशमलब दुई टन र लुम्बिनी सिड्स कम्पनीले दुई दशमलब पाँच टन बिउ उत्पादन गरेका थिए । नेपालमा ९ लाख ५४ हजार हेक्टरमा मकै लगाउने गरिन्छ । एक हेक्टरमा २० किलो बिउ आबश्यक पर्दछ । कोइरालाका अनुसार १० देखि १५ प्रतिशत जमिनमा हाइब्रिड मकै लगाउने गरिन्छ । सालाखाला ४ देखि ५ टन प्रति हेक्टर उत्पादन हुने गर्दछ ।
बारा, पर्सा जिल्लाहरुमा ६ देखि ७ टन सम्म उत्पादन हुने गरेको कोइरालाको भनाई छ । राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रम रामपुरले हाल सम्म सात वटा हाइब्रिड जातका मकैको बिकास गरेको छ । जसमध्य पाँचवटा सिफारीस भएका छन् भने दुईवटा सुचिकृत भई सकेका छन् । उहाँका अनुसार सुचिकृत भएका जातमा रामपुर हाइब्रिड– १० र रामपुर हाइब्रिड– ८ हुन । गौरब, रामपुर हाइब्रिड– २, रामपुर हाइब्रिड– ४, रामपुर हाइब्रिड– ६ र खुमल हाइब्रिड– २ सिफारीस भएका जात हुन ।
हाइब्रिड बिकास गर्न ८ देखि १० वर्ष समय लाग्ने गर्दछ । रामपुरले हाइब्रिड संगै बिभिन्न ३७ जातका मकै बिकास गरी सकेको छ । हावापानीका हिसाबले तराई, मध्यपहाड, उच्च पहाडी, रंगका हिसाबले सेतो, पहेलो र खुल्ला सेचित जातका मकैका बिउ उत्पादन गरेको उहाँले जानकारी दिनुभयो । निजी क्षेत्रलाई हाइब्रिड बिउ उत्पादन गर्न रामपुरले स्रोत बिउ र प्राबिधिक सहयोग गर्दै आएको छ । कोइरालाका अनुसार एक हेक्टरमा १६ किलो पोथि लाईनको र ४ किलो भाले लाईनको बिउ दिईएको हो । अहिले बिउ मकै थन्काउने समय भए पनि लकडाउनका कारण आँफुहरु बिउ लगाएका ठाउँमा पुग्न नसकेको उहाँले बताउनुभयो ।
वि. सं. २०२९ सालबाट रामपुरमा मकैको अनुसन्धान थालिएको हो । बीउ व्यवसायी संघका पूर्व अध्यक्ष मित्रराज दवाडीका अनुसार नेपालमा वर्षमा दुई हजार मेट्रिक टन मकैको हाइब्रिड बीउ आयात हुने गरेको छ । प्रति किलो रु ४ सय ५० देखि ६ सय सम्ममा बिउ आउने गरेको उहाँको भनाई छ । स्वदेशमानै उत्पादन गर्न सकेमा वाहीर जाने ठूलो रकम यहि बस्ने उहाँले बताउनुभयो ।
प्रमुख कोइरालाले आयातित मकैको बिउमा कहिले काही समस्या आएको भन्दै सरकारले रु २३ करोड सम्म राहत दिएको उदाहरण दिनुभयो । नेपालमानै सरकारले लगानी गरेर हाइब्रिड बिउ उत्पादन वढाउन सके रकम वाहिर नजाने र उत्पादन वढाउन सकीने उहाँको भनाई छ । कोइरालाले भन्नुभयो “अर्काको भर पर्दा समस्या पर्ने गरेको छ । यही बिउ उत्पादनका लागि सरकारले सहयोग गर्नु पर्छ ।”
तपाइँको प्रतिक्रिया