काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
बोर्डको अध्यक्षको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दाहालसँगै भुवन केसी र राजेश थापाको नाम सिफारिस गरेको थियो । गत बिहीबार मन्त्रालयले दरखास्त दिने १० जनामध्ये तीनजनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो ।


१० जनाको आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सोही समितिले मन्त्रिपरिषद समक्ष तीनजनाको नाम सिफारिस गरेको थियो ।
गत वर्षको मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि खाली भएको उक्त पदका लागि मन्त्रालयले गत महिना आवेदन आह्वान गरेको थियो । ६ महिना पछि बोर्डले नेतृत्व पाएको हो ।
नेपालका सफल निर्देशकको रुपमा चिनिने दाहालले ‘दाइजो’ बाट चलचित्र निर्देशन शुरु गरेका थिए । उनले दर्जनौं सुपरहिट नेपाली चलचित्र निर्देशन गरेका छन् ।