कृषि तथा वन बिज्ञान विश्वविद्यालयप्रती सरकार उदासीन बन्यो : नेविसंघ
चितवन – नेपाल विद्यार्थी संघ (नेविसंघ) कृषि तथा वन बिज्ञान विश्वविद्यालय समन्वय समिति रामपुले विश्वविद्यालयप्रती सरकार उदासिन भएको जनाएको छ । सरकारको उदासिनताको कारण लामो समयसम्म विश्वविद्यालयमा उपकुलपती र रजिष्टार नियुक्त नहुनु दु:खद भएको समितिले जनाएको छ ।
समितिका सभापति मन्दिप पोखरेलले एक बिज्ञप्ति जारी गर्दै विश्वविद्यालय प्रति सरकार उदाशिन बनेको आरोप लगाए । समग्र अर्थतन्त्रको मेरुदण्ड मानिएको देशको एक मात्र प्राविधिक विश्वविद्यालयमा लामो समयदेखी उपकुलपती र रजिष्टार नियुक्त नहुनुले सरकारले अपेक्षा गरेको स्पष्ट हुने जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । यसले गर्दा कृषि तथा वन बिज्ञान विश्वविद्यालयको भविष्य अन्योलमा परेको नेविसंघको ठहर छ ।
उसले सिनियर सहायक डिनहरु हुँदा हुँदै कानुनको अपव्याख्य गरेर सत्ताको आडमा मर्यादाक्रम बिर्सिएर डिन नियुक्त गर्नुले कायममुकायम उपकुलपतिको राजनीतिक चरित्र उदाङ्ग भएको जनाएको छ । पछिल्लो समयमा कायम मुकायम उपकुलपतिले गरेको गैरजिम्मेवार निर्णय नेविसंघलाई मान्य नहुने समेत बिज्ञप्तिमा उल्लेख छ ।
यस्तै पछिल्लो समयमा विश्वविद्यालयमा अख्तियार छापा मारेको भन्ने बुझिएकाले यस बिषयमा समेत स्पष्ट पार्न उसले माग गरेको छ । काम चलाउ प्रशासनले आर्थिक क्रियाकलापलाई मात्रै ध्यान दिएको उसको आरोप छ । कोरोनाको बहानामा विश्वविद्यालयको गुणस्तर सुधार र परीक्षाफल प्रकाशन नगर्नुले प्रशासनको असक्षमता देखिएको उसको ठहर छ ।
तपाइँको प्रतिक्रिया