विश्वकर्मा सम्पर्क मञ्चले गर्यो करेन्ट लागेर दुवै हात गुमाएकी बालिकालाई आर्थिक सहयोग
चितवन – करेन्ट लागेर दुवै हात गुमाएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका -५ की कृशिखा विकलाई धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चले आर्थिक सहयोग गरेको छ । मञ्चले आज विकलाई ५५ हजार ५ सय ५५ रूपैयाँ आर्थिक सहयोग गरेको हो ।
गरिमा विकास बैंक लिमिटेडमा रहेको कृशिखा विकको खातामा मञ्चले नारायणगढ शाखाबाट उक्त रकम दाखिला गरेको छ । पाउद्धार मामाघर तथा खिवाङ घर भएकी विकको उपचार र शिक्षाका लागि मञ्च र चितवनको एक महिने आर्थिक संकलन अभियानबाट संकलित रकम बैंक मार्फत पठाइएको मञ्चका अध्यक्ष भीमप्रसाद विश्वकर्माले बताए ।
किर्तीपुर अस्पतालमा उपचार गरि हालै डिस्चार्ज भएकी कृशिखालाई थप उपचार र भविष्यमा शिक्षाको लागि केही भएपनि सहजता मिलोस् भन्ने हेतुले उक्त रकम सहयोग गरिएको मञ्चका महासचिव अमिर रामदामले बताएका छन् । त्यस्तै मञ्चका संयोजक लक्ष्मण सेन्चुरीले भने ‘यो पवित्र अभियानमा सहयात्री बन्ने सबै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्दछौँ र आगामी दिनहरूमा पनि यस्तै किसिमको थप सहयोगहरूको अपेक्षा राखेका छौं ।’
घर नजिकै खेल्ने क्रममा गत बैशाख ३ गते ट्रान्सफर्मरबाट करेन्ट प्रवाह भई गम्भीर घाइते भएकी कृशिखाको दुवै हात काटिएको छ । मञ्चले पछिल्लो समय क्रियाशील भएर सामाजिक, साँस्कृतिक तथा दलित आन्दोलनमा कार्य सम्पादन गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया