फौजी किराले मकै नष्ट पार्न थालेपछि ठोरीका किसान चिन्तित
ठोरी – पर्साको ठोरी गाउँपालिकामा अमेरिकन फौजी किराले मकै बाली नष्ट पार्न थालेपछि किसान चिन्तित भएका छन् । गाउँपालिकाका बिभिन्न वडामा किसानले लगाएको मकैको बिरुवा उम्रिनासाथ फौजी किराले नष्ट पार्न थालेपछि उनिहरु चिन्तित भएका हुन् ।
गाउँपालिकाको सबै वडामा फौजी किराले मकै बाली नष्ट गरेको किसानहरुको गुनासो छ। विशेषगरि वडा नं ४ र ५ मा किराले बढी मात्रामा मकै बाली नष्ट गरेको छ । उक्त वडामा सुर्ती खेती पश्चात मकै खेतीका लागि छरेको बिरुवा किराले नष्ट गरेपछि किसानहरु चिन्तिन भएका छन् ।
मकैको पातमा पुतलीले फुल पारेपछि फुलबाट निस्किएको लार्भाले शुरुमा पातको हरियो भाग खाएर सेतो धर्सा देखिने कृषकहरु बताउँछन् । सोही लार्भाले गुभोमा पुगेर बढी रहेको गुभो र पातको हरियो भाग पूरै खाएर नष्ट गर्ने गरेको छ ।
मकैको बाली फौजी किराले सखाप पार्न थालेपछि उत्पादन घट्ने चिन्ता बढेको ठोरी ४ का कृषक राजु थिङ्ले गुनासो गरे । करिब १ बिघामा लगाएको मकै बाली फौजी किराले सखाप पारेपछि थिङ चिन्तित छन् ।
किसानले मकै गोडमेल गरेर बिरुवा फस्टाउनुपर्ने समयमा फौजी किराले नष्ट गर्न थालेको अर्का कृषक घनश्याम रिसालले गुनासो गरे ।उनले झन्डै १५ कट्ठामा लगाएको मकै पनि किराले नष्ट पारेको छ । किराले मकै नष्ट गर्दा लगानी र मेहनत खेर गरेको ठोरीका कृषकहरु गुनासो गर्छन् ।
सिचाइ सुविधा नभएको ठाँउमा समेत भदौमा भित्र्याउने गरि किसानले बैशाख अन्तिम र जेठको पहिलो हप्तासम्म मकै छरेका थिए । तर जेठको दोस्रो हप्तादेखि नै फौजी किरा देखिन थालेको र अझै बढ्ने क्रममा रहेको किसानहरु बताउँछन् । बढ्नुपर्ने बेलामा किरा लागेपछि मकै फल्न नै समस्या हुने किसानहरुको भनाइ छ। लकडाउनका कारण मकैमा छर्ने बिषादीको पनि अभाव हुँदा झनै समस्या पर्नेगरेको उनिहरुले बताए । बिगतमा मकैमा दाना लाग्न थालेपछि फौजी किराको प्रकोप बढ्ने गरेको भएपनि यसपटक भने बिरुवामा नै किरा लागेको हो ।
मकैमा लाग्ने अमेरिकन फौजी किरा (फल अर्मीवार्म) अमेरिकाबाट नेपालमा भित्रिएको हो । अमेरिकाबाट अफ्रिका पुग्यो । त्यहाँबाट बङ्गलादेशसम्म पुग्यो । भारतमा १९१८ मा भित्रियो । २०७६ जेठ महिनामा नवलपरासीको गैंडाकोटका किसानले लगाएको मकैबालीमा पहिलोपटक यो फौजी किरा देखिएको हो । त्यसपछि यसकोे प्रकोप मुलुकभरि फैलिन सक्ने चेतावनी कृषि अधिकारीहरूले दिएका छन् ।
यो किरालाई कतिपयले अमेरिकन मिचाहा फौजी किरा पनि भन्ने गर्दछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाका अनुसार यो नयाँ किरा भएकाले यसको अनुसन्धान राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरमा भइरहेको छ । जिल्लामा करिब सात हजार हेक्टरमा मकै लगाइएको छ । अधिकांश ठाउँमा यसको प्रकोप देखिएको भन्दै उहाँले २० देखि ३० प्रतिशतसम्म नोक्सान गरेको बताए ।
तपाइँको प्रतिक्रिया