दैनिक ६ घण्टा व्यापार व्यवसाय संचालन गर्न पाउनु पर्ने चितवनका व्यवसायीहरुको माग
चितवन – चितवनका उद्योगी व्यवसायीहरुले दैनिक ६ घण्टा उद्योग, व्यापार व्यवसाय संचालन गर्न पाउनु पर्ने माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनलाई आज (बुधबार) ज्ञापनपत्र बुझाउदै उनिहरुले दिउँसोको समयमा दैनिक बिहान १० बजे देखी अपरान्ह ४ बजेसम्म ६ घण्टा उद्योग व्यवसाय संचालन गर्न पाउनु पर्ने माग गरेका हुन् ।
उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ, चेम्बर अफ कमर्श चितवन, रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ र राप्ती उद्योग वाणिज्य संघले संयुक्त रुपमा जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाउदै उद्योग र व्यापार व्यवसाय संचालनका लागि समन्वय गरिदिन माग गरेका हुन् ।
उवा संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेल, चेम्बर अफ कमर्सका उपाध्यक्ष गोपाल भट्टराई, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटा र राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेलद्वारा हस्ताक्षरित पत्र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई बुझाउदै उनिहरुले यस्तो माग गरेका हुन् ।
उनिहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्दै उद्योग र व्यापार व्यवसाय संचालनका लागि समन्वय गरिदिन माग गरेका छन् । दैनिक उपभोग्य वस्तु एवंम् नेपाल सरकारद्धारा निर्दिष्ट गरिएका उद्योग व्यवसायहरु (औषधि, डेरी, पेट्रोलियम पदार्थ, फलफूल, तरकारी, खाद्यान्न) यथावत रुपमा संचालन गर्न पाउनु पर्ने उनिहरुको माग छ । बैंक तथा वित्तिय संस्थाहरु पूर्णकालिन रुपमा संचालन गरिनुपर्ने तथा अन्य व्यापार व्यवसाय विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन गर्न पाउनु पर्ने उनिहरुको माग छ ।
यस्तै उनिहरुले आन्तरिक राजश्व विभागबाट जारी गरिएको कर तथा राजश्व बुझाउनुपर्ने समयसीमा लकडाउन सकिएको तीन महिनासम्म थप गर्न पनि माग गरेका छन् ।
तपाइँको प्रतिक्रिया