तुरुन्त कर तिर्न लगाएर व्यापारी तर्साउने काम नगरियोस् : चितवन च्याम्बर
भरतपुर – लकडाउनले थलिएका उद्योगी व्यवसायीलाई जेठ २५ भित्र कर तिर्न ताकेता गरेकोप्रति चितवन च्याम्बर अफ कमर्सले विरोध जनाएको छ । च्याम्बरले आज विज्ञप्ति जारी गरी जेठ ३२ सम्म लकडाउन बढाएर जेठ २५ भित्रै कर बुझाऊ भन्नु अवैज्ञानिक र अन्यायपूर्ण भएको टिप्पणी गरेको छ ।
“आर्थिक कारोबार बन्द भई उत्पादन, वितरण तथा आपूर्ति प्रणाली नै ठप्प भई व्यवसाय नै धरासयी हुने अवस्थालाई बेवास्ता गर्दै लकडाउन जारी रहेकै अवस्थामा तुरुन्त कर तिर्न आऊ भन्नु कुनैपनि हिसाबले न्यायसंगत र वैज्ञानिक छैन”, अध्यक्ष दीर्घमान श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अर्बौं रुपैया“ लगानी डुब्ने अवस्थामा पुग्दा पनि धैर्यता र संयमताका साथ आमजनताको स्वास्थ्यलाई ध्यानमा राखी जिम्मेवार ढंगले लकडाउनको पूर्ण समर्थनमा रहेका उद्योगी, व्यवसायीलाई राहत दिनुको सट्टा उल्टै तर्साउने र हतोत्साही गर्ने काम सरकारबाट नहोस् ।”
च्याम्बरले सरकारले योबेलामा उद्योगी व्यवसायीलाई राहत दिनुपर्ने पनि माग गरेको छ । “ यो कठिन घडीमा बैंकको ऋण तथा ब्याजसमेत तिर्न नसकेका उद्योगी व्यवसायीलाई सरकारले प्रभाव क्षेत्र हेरेर ऋणको ब्याज मिनाहा गर्न, लकडाउन अवधिपछि ऋण भुक्तानीको पुनर्तालिकीकरण गर्न, ब्याज तिर्ने अवधि बढाउन, व्यवासय पुनस्र्थापित गर्न पुनःकर्जा सुविधा उपलब्ध गराउन र कर तिर्ने अवधि लकडाउन सकिएको कम्तीमा ३ महिना पछाडि लैजान हामी नेपाल सरकारस“ग जोडदार माग गर्दछौं”, विज्ञप्तिमा भनिएको छ ।
साथै, लकडाउनको ढा“चा परिवर्तन गर्न पनि च्याम्बरको माग छ । “सम्पूर्ण जनजीवन नै ठप्प हुने गरी गरिएको लकडाउनले सबै उद्योेग, व्यवसाय, व्यापार तथा वाणिज्य चौपट भएको छ”, च्याम्बरको विज्ञप्तिमा उल्लेख छ, “पूर्ण स्वास्थ्यसुरक्षाका साथ आफ्ना उद्योग व्यवसाय चलाउन सक्ने वातावरण बनाउन पनि हामी माग गर्दछौं ।” नेपालमा कोरोनाविरुद्ध लड्नका लागि चैत ११ गतेदेखि निरन्तररुपमा लकडाउन भइरहेको छ ।
सम्पूर्ण जनजीवन नै ठप्प हुने गरी गरिएको लकडाउनले सबै उद्योेग, व्यवसाय, व्यापार तथा वाणिज्य बन्द छन् । नेपाल सरकारले पछिल्लो पटक लकडाउन अवधि जेठ ३२ सम्मलाई लम्ब्याएको छ । तर, आन्तरिक राजस्व विभागले सूचना जारी गरेर जेठ २५ भित्र सम्पूर्ण कर बुझाउन व्यवसायीहरुलाई ताकेता गरेको छ । यसको सर्वत्र विरोध भइरहेको छ ।
तपाइँको प्रतिक्रिया