चितवनको ईच्छाकामनाले कोरोना नियन्त्रणमा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने
चितवन – कोरोना भाईरस (कोभिड १९ )को त्रास वढिरहेको समयमा जिल्लामा रहेको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले कर्मचारीहरुलाई प्रोत्साहन भत्ता उपलव्ध गराउने भएको छ । गाउँपालिकाको कार्यापालिका बैठकले कोरोना संक्रमण फैलिनबाट रोक्नका लागि जोखिम मोलेर सेवामा खटिने स्वास्थ्यकर्मी लगाएत अन्य कर्मचारीहरुलाई प्रोत्साहन भत्ता स्वरुप एक महिना बराबरको तलब उपलब्ध गराउने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले कोरोना रोकथामका कामलाई प्रभावकारी बनाउने उदेश्यले प्रोत्साहन स्वरुप एक महिना बराबरको तलब भत्ता उपलब्ध गराउने निर्णय गरिएको बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गरिरहेको छ, ती कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप एक महिना बराबरको तलब दिने निर्णय गरेका छौँ। ”
प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले कोरोना रोकथामका लागि कर्मचारीहरु जोखिम मोलेर काम गरिरहेको बताउनुभयो । उहाँले प्रोत्साहन भत्ता स्वरुप एक महिनाको तलब दिने निर्णयले कर्मचारीहरुमा थप काम गर्ने हौसला प्रदान भएको बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले गाउँपालिका प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य साहयता कक्षा राखेको छ ।
गण्डकी प्रदेशबाट प्रवेश गर्ने नाका मुग्लिन पुल नजीक, धादिङबाट प्रवेश गर्ने नाका मौवा खोला र गाउँपालिका परिसरमा स्वाथ्य सहायता कक्षा संचालनमा रहेका छन् । गाउँपालिकाले कोरोना रोकथाममा खटिएका स्वास्थ्यका २५ जना र अन्य ८ जना कर्मचारीलाई भत्ता दिने निर्णय गरेको हो ।पैदल यात्रुहरुलाई स्वास्थ्य जाँच पश्चात मात्र गाउँपालिका प्रवेश गर्न दिइएको छ । यस अघि पृथ्वी राजमार्ग हुँदै पैदल यात्रामा आएकाहरुलाई सोही गाउँपालिकाको अध्यक्षको अगुवाईमा उनीहरुको गन्तव्य सम्म गाडी चढाएर पठाईएको थियो ।
तपाइँको प्रतिक्रिया