ठोरी नाका आइपुगेका २४ नेपालीलाई भारततर्फ नै फर्काइयो
ठोरी – भारतको मुम्बईबाट पर्साको सीमावर्ती नाका भिखनाठोरी आइपुगेका २४ जना नेपालीलाई भारततर्फ नै फर्काइएको छ । आइतबार राती करिब १२ बजे सीमावर्ती भिखनाठोरी आइपुगेका २४ जनालाई पुन: भारततर्फ नै फर्काइएको हो ।
उनिहरुलाई भिखनाठोरीबाट ६ किलो मिटर दुरीमा पर्ने अनुसुचित जाती जनजाति आवासीय उच्च विद्यालय धमौरा क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरी २ का प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिए ।
मुम्बईबाट पाँच दिनमा ठोरी आइपुगेका उनिहरुलाई भिखनाठोरीको एक विद्यालयमा राखिएका थियो । आज उनिहरुलाई अनुसुचित जाती जनजाती आवासीय उच्च विद्यालयको क्वारेन्टाइनमा राखिएको छ ।
रातको समयमा आएका उनिहरु भारतीय सुरक्षा बल (एसएसबी) आँखा छलेर नेपाल प्रवेश गर्ने खोजेका थिए । एसएसबीले चेकजाँच गर्न जाँदा कोही पनि नदेखेपछि नेपाल स्थित सशस्त्र प्रहरीलाई खबर गरेको थियो । खबर पाउनसाथ सशस्त्र प्रहरीले खोजी गर्दा नेपाल प्रवेश गर्न लागेको अवस्थामा फेला परेको उनिहरुलाई पुन: भारतीय एसएसबीको जिम्मा लगाइएको थियो ।
माथिबाट फर्काइदिने आदेश आएपछि एसएसबीको जिम्मा लगाइएको सशस्त्र प्रहरी निरीक्षक दाहालले बताए । उनिहरुलाई १४ दिन उक्त विद्यालयको क्वारेन्टाइनमा राखिनेछ । १४ दिनपछि आवश्यक प्रक्रिया पूरा गरि उनीहरूलाई नेपाल पठाइने भारतीय सिमा सुरक्षा बलले जानकारी दिएको पनि दाहालले बताए ।
वैशाख ३१ गते मुम्बईबाट हिँडेको टोलीमा चितवनका २१ जना ,मकवानपुरका २ जना र कंचनपुरका १ जना रहेका छ्न्। यता माडी नगरपालिकाका मेयर ठाकुर ढकालले आफ्नो गाउँका नागरिक नाकामा अलपत्र परेको थाहा पाएपछि उद्दार गर्न गएको तर सीमामा खटिएका सशस्त्र प्रहरीले अनुमति नदिएको उनले गुनासो गरे ।
फाइल तस्बिर
तपाइँको प्रतिक्रिया