चितवन – आइतबार नारायणगढको पुलचोकमा चेक जाँचको क्रममा प्रहरीको टोलीले एउटा एम्बुलेन्सलाई रोक्यो । एम्बुलेसमा ६ जना सवार देखेपछि रोकेर ट्राफिक प्रहरीले सोधपुछ गरे । एक चालक सहित एम्बुलेन्समा ६ जना थिए ।
ट्राफिक प्रहरीले सोधपुछ गर्दा एक जना बिरामी र ३ जना कुरुवा भएको चालकले बताए । चालकसँगै बसेका अर्का एक व्यक्ती बारे सोधपुछ गर्दा उनले छिमेकी भएको बताए । चालकले आफुसँगै बसेका व्यक्ती छिमेकी भएको र उनलाई घर पुर्याइदिन लागेको बताएपछि ति ब्यक्तीलाई ट्राफिक प्रहरीले त्यही उत्रिन लगाए ।


एम्बुलेन्समा बिरामी भएकोले ति ब्यक्तीलाई त्यही झर्न लगाएर प्रहरीले चालकलाई फेरी यस्तो गरे कारबाही गर्ने चेतावनी दिएर छोडे । अर्का ब्यक्तीलाई भने जहाँबाट आएको त्यही जान भन्दै प्रहरीले पुलचोकबाटै फर्कायो ।
जिल्लामा पछील्लो समय यसरी एम्बुलेन्स लगायतका अत्यावश्यक साधनहरुले यात्रु बोक्न थालेका छन् । एम्बुलेन्स चालकहरुले बिरामी र बिरामी कुरुवासँगै खाली सिटमा अन्य यात्रु पनि बोक्न थालेका हुन् । कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको कारण अत्यावश्यक बाहेकका सबै सवारी साधन बन्द भएकोले एम्बुलेन्स चालकहरुले बिरामी बोकेको मौका छोपेर खाली सिटमा अन्य यात्रु पनि बोक्न थालेका हुन्।
एम्बुलेन्सलाई प्रहरीले चेक जाँच नगर्ने भएकोले पनि उनिहरुले यात्रु बोक्न गरेका छन् । आज मात्रै ट्राफिक प्रहरीले पुलचोकमा बिरामी बोकेको मौका छोपेर अन्य यात्रु पनि बोक्न करिब आधा दर्जन एम्बुलेन्स चालकलाई चेतावनी दिएर छाडेको छ । यात्रु बोकेर चितवनतर्फ आएका केही एम्बुलेन्सलाई भने प्रहरीले पुलचोकबाट नै फिर्ता पठाएको छ ।
अत्यावश्यक बाहेकका सबै सवारी बन्द भएकोले केही एम्बुलेन्स चालकहरुले बदमासी गर्ने गरेको चितवनका ट्राफिक प्रमुख दयाकृष्ण भट्टले बताए । केही दिन अघी धेरै एम्बुलेन्स चालकहरुले खाली सिटमा यात्रु बोक्ने गरेपनी अहिले बिस्तारै कम हुँदै आएको उनले बताए । “एक डेढ हप्ता अगाडि धेरै एम्बुलेन्स चालकहरुले बदमासी गरेर यात्रु बोक्ने गरेको पाइन्थ्यो उनले भने, अहिले कोरोनाको जोखिम बढ्दै गएपछि अली कम हुँदैछ ।”
उनका अनुसार एम्बुलेन्सले चालक बाहेक बिरामी र बढीमा दुई जना कुरुवा मात्र बोक्ने पाउनेछन् । तोकिएको संख्याभन्दा बढी सवार भएको पाइए चेक जाँच भएकै स्थानमा झार्ने अथवा नजिक भए एम्बुलेन्सलाई यात्रु जहाँबाट ल्याएको त्यही छोड्न लगाइने उनले बताए । बिरामी अवस्था गम्भिर भएको खण्डमा भने यात्रुलाई झारेर एम्बुलेन्सलाई छाड्ने गरिएको उनले बताए । यस्तै बिरामीको अवस्था हेरेर कुरुवाको संख्या तलमाथि पनि गर्ने गरिएको उनले बताए ।
यस्तै खाना पकाउने ग्यासलगायतका सामाग्री ढुवानी गर्ने सवारी साधनहरुले पनि यात्रु बोक्ने गरेको पाइएको छ । सरकारले अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधनहरुलाई निर्वाध रुपमा चल्ने दिने भएकोले त्यसैको मौका छोपेर उनिहरुले यात्रु बोक्ने गरेका हुन् ।
चितवन ट्राफिकले यसरी यात्रु बोक्ने सवारी साधनहरुलाई चेतावनी तथा कारबाही गर्ने गरेको छ । आज पुलचोकमा भएको चेक जाँचको क्रममा अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । चेक जाँचको क्रममा यात्रु बोकेको थाहा पाएपछि ब्लु बुक तथा लाइसेन्स नियन्त्रणमा लिएर यात्रुलाई जहाँबाट ल्याएको त्यही फर्काउन लगाएको छ ।
अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधनहरुमा चालक र सह-चालकसहित ५-६ जना सवार देखिएपछि प्रहरीले चेक जाँच कडा गरेको थियो । अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधनले यात्रु बोकेको पाइएमा चेक जाँच भएकै स्थानमा झार्ने अथवा नजिक भए एम्बुलेन्सलाई यात्रु जहाँबाट ल्याएको त्यही छोड्न लगाइने उनले बताए ।
लकडाउनमा थप कडाई
चितवनमा लकडाउनमा थप कडाई गरिएको छ । जिल्लामा कोरोनाको जोखिम बढेसँगै लकडाउनमा थप कडाई गरिएको हो । चितवन प्रहरीले एक जिल्लाबाट अर्को र एक स्थानिय तहबाट अर्कोमा आउन जान रोक लगाएको छ । यस्तै अत्यावश्यक बाहेकका सवारी साधनलाई नियन्त्रणमा लिने र चेक जाँच गरिएकै स्थानबाट फर्काउने गरिएको ट्राफिक प्रहरी प्रमुख भट्टले बताए । एक जिल्लाबाट अर्को र एक स्थानिय तहबाट अर्कोमा आउने जाने गर्न पैदल यात्रुलाई समेत रोक लगाईएको उनले बताए ।