सेना परिचालन गर्दै सिन्धुपाल्चोकका ४ वडा र स्वास्थ्य चौकी सिल,बाह्रबिसे बजार पनि बन्द
सिन्धुपाल्चोक – कोरोना भाइरसको संक्रमणबाट एक जना महिलाको मृत्यु भएपछि सिन्धुपाल्चोकमा चार वटा गाउँ सिल गर्दै सेना परिचालन गरिएको छ । ती महिलालाई उपचार गर्न लगिएको बाह्रबिसेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ ।
बाह्रबिसे नेगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले लकडाउनमा कडाइ गर्न बाह्रबिसे नगरपालिकाका वडा नम्बर ८ र ९ तथा बलेफी गाउँपालिकाका ७ र ८ नम्बर वडामा सेना परिचालन गरिएको बताइन् । बाह्रबिसे ती महिलाको घर हो भने बलेफी उनको माइती हो ।
उपमेयर पाख्रिनका अनुसार बाह्रबिसे बजार पनि आइतबार बिहानबाट पूर्णरुपमा बन्द गरिएको छ । ‘अरु दिनमा अत्यावश्यक खाद्य सामग्री किनबेच गर्न केही घण्टा खोलिन्थ्यो, आज बिहान त बजार पूरै बन्द गरिएको छ,’ उपमेयर पाख्रिनले भनिन् । शनिबार बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । बाह्रबिसेकी ती महिला कोरोनाबाट ज्यान गुमाउने नेपालको पहिलो व्यक्ति हुन् ।
तपाइँको प्रतिक्रिया