भरतपुर बाइपासरोड विस्तार : ७० प्रतिशत काम सम्पन्न, कालोपत्रे शुरु

एटुजेड समाचार

सुशिल पन्त, 
चितवन – भरतपुरको आँपटारीदेखी केन्द्रिय बस टर्मिनलसम्मको बाइपासरोड विस्तार अन्तर्गत कालोपत्रेको काम शुरु भएको छ । बाइपासरोड विस्तारको काम भइरहेको सडकमा मंगलबारबाट कालोपत्रे गर्न शुरु गरिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख ईन्जिनियर कृष्णराज अधिकारीका अनुसार मंगलबारबाट २ दशमलव ५ किलोमिटर सडकमा पहिलो चरणको कालो कोड (कालोपत्रे) गर्ने काम शुरु भएको हो । मंगलबार पहिलो चरणमा रोलिङ सम्पन्न भएको मालपोतचोकदेखी बसेनीचोकसम्म कालो कोड गर्न शुरु गरिएको अधिकारीले जानकारी दिए । बिहीबारसम्म पहिलो चरणको कालो कोडको काम सकिने उनले बताए ।

पहिलो चरणको कालो कोडको काम सकिएको २४ घण्टापछि दोस्रो चरणको कालो कोड गरिने उनले बताए । “अहिले पहिलो चरणको कालो कोडको काम भइरहेको छ । यो सकिएको २४ घण्टापछि दोस्रो चरणको कालो कोडको काम शुरु हुन्छ उनले भने, दोस्रो चरणको कालो कोड र फाईनल कोड सँगसँगै हुन्छ ।” पहिलो चरणको कालो कोडको काम सकिएपछि दोस्रो र अन्तिम चरणको कालोपत्रे गरिनेछ।

७० प्रतिशत काम सम्पन्न

भरतपुरको बाइपासरोड सडकखण्ड अन्तर्गत चालु आर्थिक बर्षमा विस्तार हुने  २ दशमलव ५ किलोमिटर सडकको ७० प्रतिशत कार्य सम्पन्न भएको छ । २०७३ साल चैत्र ९ गतेदेखि शुरु भएको सडकखण्ड बिस्तारको काम अहिलेसम्म ७० प्रतिशत मात्र सम्पन्न भएको हो ।

सडक विस्तारको लागि बिजुलीको क्रस  तार अण्डरग्राउण्ड गर्ने काम लगभग सम्पन्न भइसकेको छ । भरतपुर सब-स्टेसन बाहेक अन्य ठाउँमा क्रस तार अण्डरग्राउण्डको काम सम्पन्न भइसकेको छ । ” बिजुली क्रस तार अण्डरग्राउण्डको काम लगभग सकिएको छ उनले भने, अब सब-स्टेसन नजिक मात्र अण्डरग्राउण्ड गर्न बाँकी छ । त्यो पनि केही समयमा सकिन्छ ।”

२०७३ चैत्र ९ गतेदेखी शुरु भएको सडक बिस्तारको काम २०७४ चैत्र १८ गतेसम्म सम्पन्न भईसक्नु पर्ने हो । गौरी पार्वती निर्माण सेवा कम्पनिले २०७३ पुस १९ गते २०७४ चैत्र १८ गते सक्ने गरी निर्माणको जिम्मा लिएको थियो । निर्धारित मितीमा काम नसकिएपछि २०७६ असार २५ गतेसम्म म्याद थप गरिएको थियो । तर उक्त मितीमा पनि काम नसकिएपछि पछील्लो पटक २०७७ जेष्ठ मसान्तसम्मको लागि म्याद थप गरिएको छ ।

“बाइपास रोड विस्तारको काम पछील्लो पटक थप गरिएको म्याद अनुसार २०७६ जेष्ठसम्म सकिन पर्ने हो सिनियर डिभिजन इन्जिनियर कृष्णराज अधिकारीले भने, तर लकडाउनको कारण काम प्रभावित हुँदा निर्धारित मितीमा नसकिने देखिएको छ । अब पुन: म्याद थप गर्नुपर्छ ।” सरकारले बिभिन्न आयोजनाको म्याद थपको लागि संशोधन गरेको नियमावली अनुसार नै म्याद थप हुने उनले बताए ।

आँपटारीदेखि केन्द्रिय बसपार्क सम्मको ४ दशमलव ४ किलोमिटर सडकलाई विस्तार गरी १४ मिटर फराकिलो बनाईदैछ । अहिले भने आधा अर्थात २ दशमलव ५ किलोमिटरको मात्र काम हुनेछ । २ दशमलव ५ किलोमिटर विस्तारका लागि गौरी पार्वती निर्माण सेवा कम्पनिले १२ करोड ८२ लाख ८१ हजार रुपैयाँमा मा ठेक्का लिएको थियो ।

विस्तार हुन लागेको भरतपुर बाईपास रोडको सडक ४ लेनको हुनेछ । शुरुमा दुई लेनको बनाउने गरी सम्झौता भएता पनि बढ्दो सवारी चापलाई मध्यनजर गर्दै चार लेनको बाटो बनाउन लागिएको हो । भौतिक योजना मन्त्रालयको ४५ करोड २१ लाख रुपैयाँको लागतमा यो सडक चार लेनको बन्न लागेको हो ।  सडकको चौडाइ भाग दुईतर्फी ढलसहित २४ मिटरको हुनेछ, जसमा १४ मिटर पिच रहनेछ ।

तस्बिर : प्रेम सापकोटा (किरण)/एटुजेड समाचार

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु