अब भन्नुस – म मात्र तपाईंको नोकर कसरी भए ?
कृपा अधिकारी,
नोकर त हामी दुबै हो नि ! म आफ्नो परिस्थितिले नोकर, तपाईं आफ्नो सोखको नोकर !
मैले म जस्तै मेरा साथीहरुको श्वास पनि बेलुनमा भरेर बिक्री भएको देखेको छु। मैले मेरो साथीहरुले भाँचिएको हातमा काम्रो बाधेरै, प्रचण्ड घाममा एउटा हातले फोरुवा खनेको देखेको छु। वास्तवमा हामी तपाईं भन्दा केही कुरामा भने असाध्यै माथी हुँदा रहेछौ। तपाईंहरुलाई के थाहा हाम्रो मुटु कति दह्रो छ। सानैमा आफ्नो बाबुआमासँग छुट्टिनुको पिडा ? आफ्नो दौँतरी साथीसँग टाढिनुको पिडा ? आफ्नो बर्सौटे दिदिबहिनी सँग माया बाँढ्न नपाउनुको पिडा ? यो सबै पिडालाई मनमा राख्दै, तपाईंहरुको हरेक वचन पानी पिए जस्तै घुटुक्क-घुटुक्क निल्दै छु। मैले यती सानो उमेरमा यो जिन्दगीलाई नजिकबाट नियाल्दै छु।
म बोल्न मात्र सक्थे। भर्खर पराई को हो आफ्ना को हो चिन्दै थिए। घर अगाडि एउटा ठूलो गाडी आयो, आमा-बाले मलाई उहाहरुसँग जाउ, उहाहरुले धेरै माया गर्नुहुन्छ भन्दै पठाउनु भो। मैले सबै माने। म पनि निकै खुसी हुँदै उहाहरु सँग गए किन भने म सँग बिकल्प थिएन। मलाई अहिले महसुस हुन्छ मान्छेहरु नै मान्छेलाई आफ्नो घरमा नोकर बनाएर पो राख्दा रहेछन। कतै देख्नु भएको छ अरु जनवारले नोकर राखेको ?
यती ठूलो घरको भऱ्याङ्ग हुन्छ भन्ने मलाई थाहा नै थिएन। किन भने म यती ठुलो घर भित्र पसेकै थीइन। यती ठुलो घरको सफाइ गर्दा पनि थकाई लाग्दैन। जाडोमा भाडा माझ्दा पनी चिसो लाग्दैन। किनभने फुर्तीलो र गोजी तातो भए कामको पैसा घर पुथ्यो। मेरो परिवार चाडपर्वमा दुई सिता टिका लगाउँदै खुशीले केही खान सक्थे। अभावका पहाड माझ पनि हामी हरेक दिन पूर्ण भएको सोच राख्दा रहेछौ। हामी केही हप्ताको पैसाले महिना दिन सम्म पुऱ्याउछौँ। अचम्म लाग्छ मेरो मालिकका सन्तान मेरो महिना दिनको कमाई जती समान्य खाना खादा रेस्टुरेन्टमा टिप्स दिएर धनाढ्य पल्टिन्छन। तर अफसोच मैले आफ्नो कामको पैसा समयमा कहिल्यै पाउँदिन।
हामी हुर्किन नपाउदै अलग अलग घरमा ठुलाबढाको दास बनाउन पठाइन्छ। हाम्रा बाबुआमालाई थाहा नै छैन हामिलाई लैजान गाडीमा घरै सम्म आउने मानिसहरुमा हृदय नै हुन्न भन्ने कुरा। तिनिहरुले आफ्ना सन्तान भन्दा कम उमेरका साना बालबालिकालाई नोकर बनाउछन। बिहान बेलुकाको चिसो भातको भरमा, बिहान उठे देखी मध्यरातसम्म कामकाजमा निरन्तर खटाउछन। बेलुका भाँडा माझेर सुत्यो बिहान झनै धेरै थुप्रिएको हुन्छ। अचम्म लाग्छ – यिनीहरुको घरमा धेरै खानेकुरा हुँदो रहेछ कि ? यिनीहरु रातभरी खाएरै बस्दा रैछन कि ? हाम्रो घरमा त बिहान चुलो बाले बेलुका के ले छाक टार्ने असमञ्जस हुन्थ्यो! यहाँ त लगातार खाने काम हुदो रहेछ।
मेरा बुवा आमालाई थाह छैन, मेरा मालिकहरु आँखामा छारो हाल्न माहिर हुनुहुन्छ। छिमेकी होस वा पाहुना – सबैको अगाडि चिप्लो घस्न जानेका हुन्छन। मलाई भऱ्याङ मुनीको साघुरो ओडारमा सुत्न लगाउदा म थुप्रै पटक झरेकी छु तर यसले उनिहरुलाई फरक पर्दैन। म छक्क पर्छु, यो घरमा धेरै फराकिला कोठाहरु खाली छन। कोठा फराकिला भएर के गर्नु मन साँघुरो भएपछी। म कैयौं पटक थाक्छु लड्छु तर यसलाई उहाहरु नाटक मान्नु हुन्छ र देखेको नदेखे झै गर्नु हुन्छ। कस्तो दोहोरो चरित्र, कस्तो देखावटी ब्यवहाँर। वास्तवमा मलाई यहाँ सास फेर्न पनि गाह्रो हुन्छ।
अब त म पनि ठूली हुँदै छु। मेरो पनि रजस्वला भयो नि। सुरुमा आफ्नै रगत देख्दा पनि डर लाग्थ्यो। तर धेरै पहिलादेखि नै यहाँहरुको रगत लागेको लुगाधुनु मेरो दैनिकी भयो। तिनै लुग्दा धुँदा धुँदै रगतसँग आफ्नो नाता रहेछ र म भित्र पनि रगत आएछ भन्ने सोचे। मलाई बेस्सरी पेट दुख्न थालेको छ। मलाई पनि हिजोआज लाज लाग्न थालेको छ। कसले कुन नजरले हेर्दै छ – पत्ता लगाउन सक्ने भएकी छु।
मेरी मालिक्नी अली बढी नै अमानबिय लाग्छ मलाई। उहाँ मलाई त पनि पनि छोरी मान्छे होस, तँलाई पनि केहि गाह्रो भयो होला कहिल्यै भन्नुहुन्न। उनको घर ठुलो तर मन सानो। मेरा बाउमाले मैले काम गर्ने ठाउँबाट समयमै पैसा पाउछन पाउदैनन म जान्दिन तर पाए भन्नु हुन्छ।
काम गरेर लखतरान परेको बेला चिसो हावाले आफ्नो गाउँको आफ्नो परिवारको याद बोकेर मलाई कोसेली दिन आए जस्तो लाग्छ। मलाई दौडेर आफ्नो गाउँ फर्कन मन छ। परिवारको अङ्गालोमा गाँसिन मन छ। दुर्भाग्य मलाई त स्वयम आफ्नो घर जाने बाटो पनि थाहा नै छैन। मैले मेरो आफ्नै दिदी बहिनीलाई पनि नजिकबाट स्पर्श सम्म गर्न पाएको छैन। उनीहरुलाई म बाटोमा भेटे पनि चिन्दिनँ, न त उनीहरुले मलाई नै चिन्छन। मलाई लाग्छ म जस्तै उनीहरु सबैजना पनि अरु कुनै ठुलाबढाको घर कै दास भएका होलान। हुनसक्छ आफनै दिदिभाई सँग म यो शहरमा कतिपटक ठाेक्कि पो सके कि ? तर पनि आफ्नोपनको आभास नै आउँदैन, किनहोला ? सायद हाम्रा रहर, सपना र सम्बन्धले सानै उमेरमा चिहान बनाउनु परेको भएर हो कि। मलाई आजै अहिले नै मेरो घर फर्किनु मन छ !
म जस्तै अरुको घरमा घरेलु कामदार भएर बस्ने मेरा साथीहरु सबै असुरक्षित छन भन्न खोजेको पनि होइन। कोही मेरा साथीहरुले आफ्नो परिवारको भन्दा पनि प्रगाढ माया र साथ पाएका होलान। तर कोही त्यही घर मै हिंसा र दुर्व्यवहारको सिकार भएका पनि छन। तर पनि मुख खोलेर विरोध गर्ने सक्दैनन, किन भने बोल्नु प्रतिबन्धित छ। ठूलाबढाको हरेक गल्ती पैसा र शक्तीले छेकिदो रहेछ। हामी निरिह र रित्तो हुनु नै हाम्रो सबैभन्दा ठुलो गल्ती सावित हुदो रहेछ। हामी जति नै ठीक भए पनि जिन्दगीभरी दबिन वाध्य हुन्छौ।
कसैले मलाई सुन्दैन भन्ने मलाई थाह छ। तर यती हुँदाहुँदै पनि मलाई बोल्नु छ, मलाई पनि केही भन्नु छ।
मान्छेले आफ्नो घरको सामान्य काम आँफैले गर्न किन सक्दैन होला ? मान्छेले आफ्नो बिगत, आफ्नो धरातल बिर्सिएर मान्छेलाई नै दास जस्तो घरेलु नोकर किन बनाउछ होला ? हामी सँग केही नहुनु भनेको, जिन्दगी भरी अरुको दास बन्नु होइन, स्वाभिमान गुमाउनु होइन।
यहाँ जे कुरामा पनि उत्सव उमङ्ग हुने रहेछ। बत्तीको चमक धमक, खानेकुराको फालाफाल, मान्छेको ओहर दोहर। तर दिनमा जति नै रमाइलो गरे पनि बेलुका सुत्ने बेला भने औषधी चाहिने रहेछ। त्यसैले वास्तवमा को कती सम्पन्न र को कती शक्तिशाली – थाहा हुने रहेछ।
अब भने मलाई प्रश्न गर्न मन लाग्यो। सुखी यथार्थमा मेरा मालिक (तपाईं) कि म जस्ता कामदार ? जीन्दगी कसले जिउन जानेको रहेछ ? जीन्दगी कसले बाँच्न सिकेको रहेछ? त्यसैले, मलाई किन किन – भर्याङ मुनी सुते पनि चिसो भात खाए पनि तपाईंहरु र मेरो तुलना गर्न मिल्दैन कि जस्तो लाग्छ।
सम्पत्ति र चिन्ताको नोकर तपाईं । त्यसैको अतिरिक्त भारले थिचिएको नोकरको जिन्दगी तपाईंको । हेर्नु त – म चिसो छिडीमा पनि एक्कै छिनमा निदाउछु तर तपाई यत्रो भब्य महलमा पनि औषधीको शिरानी नराखी निन्द्रालाई साथी बनाउनै सक्नुहुन्न । अब त आफ्नो गलत ब्यवहार थाहा पाउनुस। घरेलु कामदार पनि मान्छे हुन इज्जत दिनुस, सम्मान दिनुस। लोभ र इर्श्याले घरकै सदस्य एक अर्को सँग नबोल्दा पनि त्यही कामदारले तपाईंको दैनिकी र परेको बेला इज्जत धानी दिएको छ।
कस्तो अचम्मको भाग्य हुदो रहेछ उही रोटीको पनि। हाम्रा मालिकहरु त्यही रोटीका विभिन्न परिकार सङ्ग खाएर आधा नै फाल्दिन्छन। हामी भने त्यही आधा रोटीले नै पुरै जीवन बिताइदिन्छौ। तर आधा रोटीको हाम्रो जीवन आफ्नो सोखको नोकर नभएर शान्त छ !
तपाइँको प्रतिक्रिया